
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले भारोत्तोलनको एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई विदाई गरेका छन् ।

ओलम्पिक भवनमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले भारोत्तोलन खेलाडी सागर भण्डारी, प्रशिक्षक जीवन गौतम र व्यवस्थापक रामसुन्दर श्रेष्ठलाई शुभकामना सहित बिदाई गरेका हुन् ।
प्रशिक्षक गौतम नेतृत्वमा नेपाली एक खेलाडीले यहि डिसेम्वर ४ देखि १४ तारिख सम्म दोहामा आयोजना हुने पेरिस ओलम्पिक खेलको छनौट खेलको रुपमा रहेको आइडव्लुएफ ग्राण्ड प्रिक्स २ मा प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा सहभागिता जनाउन कतार भारोत्तोलन महासंघले नेपाललाई निमन्त्रणा दिएको हो । भण्डारीले १०९ केजी भन्दा माथी प्रतिस्पर्धा गर्नेछन् ।
सो अवसरमा खेलाडीहरुलाई विदाई गर्दै एनओसी अध्यक्ष श्रेष्ठले नेपालको गौरव बढाउन खेलाडीहरुले मेहनत गर्नुपर्ने कुरा औंल्याउँदै जितको शुभकामना दिए । नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय ऐरिनामा उच्चस्तरको प्रदर्शन हेर्न नेपालीहरु संधै उत्सुक रहेको उनको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष एवं एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघ एनआरसीएका अध्यक्ष राजीव श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोसलगायतको उपस्थिति रहेको थियो ।
