
पोखरा स्पोर्टस । ‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भएका छन् ।
माघ १ गते देखि ६ गते सम्म पोखरा रंगशालाको भलिबल प्रशिक्षणमा हुने उक्त प्रतियोगिताको मुख्मन्त्री पाण्डेले गर्ने तय भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिएका हुन् । पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष शर्माले प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथी बनाउने गरी विगतमा समेत परम्परा रहि आएको बताउँदै चौथो संस्करणमा समेत त्यो कायम रहेको बताए ।
टाइगर ग्रुपका अध्यक्ष शर्माको नेतृत्वमा संस्थाका महासचिव तथा गण्डकी प्रदेशका सांसद प्रकाश बरालसहितको टोलीले मुख्यमन्त्री पाण्डेलाई भेट गरी माघ १ गते हुने उद्घाटनका लागि निमन्त्रणा दिएको थियो ।
“यो गण्डकी प्रदेशकै गौरवको खेलकुद कार्यक्रम हो । यो प्रतियोगितामा अन्तर्राष्ट्रिय क्लव र खेलाडीहरुको जमघट हुन्छ । खेलकुदमार्फत पोखरालाई प्रवर्द्धन गर्ने संगै राष्ट्रिय खेलको रुपमा स्थापित भलिबल खेलको विकासका लागि समेत महत्वपूर्ण रहँदै आएको छ”, अध्यक्ष शर्माले भने–“हामीले मुख्यमन्त्री ज्यूलाई निमन्त्रणाका लागि गएका थियौं । उहाँले हाम्रो निम्तोलाई सहर्ष स्विकार समेत् गर्नु भयो ।”
स्मरणिय के छ भने टाइगर कपको पहिलो संस्करणको उद्घाटन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, दोश्रो सस्करण पूर्व मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, तेश्रो पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।
प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरि कुल १२ टिमको सहभागिता हुने अध्यक्ष शर्माले बताए । नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानियतहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने छ । साथै उनले प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
