
पोखरा स्पोर्टस । पोखरामा एफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सुरु भएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहकार्य उक्त कोर्ष सुरु भएको हो । पहिलो पटक कास्कीमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदमा सबैको सहभागिता र सहकार्य आवश्यक रहने कुरामा जोड दिंदै भने–“न्यून लगानीका कारण सोचे जस्तो रुपमा खेलकुद विकास हुन सकेको छैन । निर्वाचनमा सबै राजनितिक दलहरुको खेलकुद विकासको विषय चासोको विषय बन्छ । खेलाडीलाई राष्ट्रको भविष्य ठान्ने तर जब राज्यबाट लगानीको कुरा आउँछ उहाँहरु बोल्नु चाहनुहुन्न । यसलाई अब तोड्न आवश्यक छ ।”
जवसम्म खेलक्षेत्रमा लगानी बढ्दैन तव सम्म खेलाडीहरु आफ्नौ देशमा सम्मानजनक रुपमा ढुक्क भए खेल्ने स्थिती अघि बढ्न नसक्ने विषय नै प्रमुख रहेको कुरा औंल्याउँदै अहिलेको खेलकुद क्षेत्र पवित्र क्षेत्र र हामी सबै एउटै डुङ्गाको यात्री रहेको उनको भनाई थियो । खेलकुद विकासका लागि सबैको उत्तकै समान दायित्व हुनुपर्ने प्रसंङ्ग अघि सार्दै सदस्य सचिव शर्माले खेलकुदमा राज्यको कुल बजेटको ५ प्रतिशत लगानी अपरिहार्य रहने कुरा समेत जोड दिए । खेलक्षेत्रबाट अनुशासित र स्वस्थ्थ नागरिका उत्पादन हुने भएकोले पनि त्यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने औंल्याउँदै उनले नेपाली फुटबलमा खेलाडी पलायनको समस्यालाई रोक्न समेत सबैको उत्तिकै भूमिका आवश्यक रहनुपर्ने बताए ।

गण्डकी प्रदेशले खेलाडीहरुको हितका सवालमा विभिन्न योजनाहरु अघि सारेको उल्लेख गर्दै खेलकुद क्षेत्रमा सबैको सम्मानजनक सहभागिताका लागि खेलकुद पदक, खेलाडी कल्याणकारी कोषलगायतका कार्यक्रमहरु अघि सारेको सदस्य सचिव शर्माले बताए । नेपाली खेलकुदमा लामो समय देखि लगानी गरि सहयोग गर्ने होस वा आयोजकको भूमिका खेल्नेहरुलाई सम्मान गर्न समेत परिषदले खेलकुद पदकबाट सम्मान गर्ने बताउँदै खेलाडी र प्रशिक्षकहरुलाई सुचिकृत गरि कल्याणकारी कोषमार्फत सहयोग गर्ने बताए । खेलाडीहरुको भविष्य शुनिष्चित संगै सम्मानजनक अघि बढ्न पाउनु पर्ने अधिकारका विषयमा प्रदेश खेलकुद परिषद उत्तिकै गम्भिर भएर अघि बढ्नका लागि नै यो पदकको कार्यक्रम अघि सारेको उनले बताए ।
सो अवसरमा केल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियाले पछिल्लो समय कास्कीको फुटबलले गति पाउन नसकेको सन्दर्भ अघि सार्दै एफसी लाइसेन्सिङ कोर्षले ग्रासरुट बाटै फुटबलको विकासका लागि प्रभावकारी हुने बताए । कास्की जिल्ला लामो समय देखि फुटबलको उर्वरभूमी रहे पनि त्यो निराशा चिर्न प्रशिक्षण कार्यक्रमले भूमिका खेल्ने उनको भनाई थियो ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं प्रशिक्षक हरि खड्काले नेपाली फुटबल विकासका लागि एफसी द्वारा एन्फा मार्फत यो कार्यक्रमलाई देशव्यापी बनाउने गरि अघि बढाएको बताउँदै कास्कीसहित विभिन्न पाँच जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु भएको बताए ।
कार्यक्रममा कास्की फुटबल संघका महासचिव वुद्धि बहादुर खत्रीले समेत आफ्ना भनाई राखेका थिए । सहभागिहरुलाई अर्का प्रशिक्षक एन्फा एजुेकेशन प्रमुख सञ्जित सिंहले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सो प्रशिक्षणमा कास्कीका १४ जना सहित विभिन्न जिल्लाका गरि २४ जना फुटबल प्रशिक्षकहरुको सहभागिता रहेको छ । आज बाट सुरु भएको उक्त प्रशिक्षण एक साता चल्ने छ भने अर्को चरणको एक महिना पछि पुनः सुरु हुने आयोजकले जनाएको छ ।
