
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) (साविक क्षेत्रिय खेलकुद) अन्तर्गत पोखरामा कार्यरत कर्मचारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीमा हाजिर हुन पत्रचार गरिएको छ ।
पोखरामा कार्यरत कर्मचारीहरुलाई हाजिर हुन राखेपले मंसिर १० गते थप अधिकार प्रत्यायोजन गर्दै पत्रचार गरेकोले अर्को व्यवस्था नभए सम्मका लागि प्रदेश खेलकुद परिषद गण्डकीमा हाजिर हुन परिषदले पत्रचार गरेको हो ।
राखेप अन्तर्गत हाल पोखरामा वरिष्ठ प्रशासकिय अधिकृत एक जना, उपनिर्देशक एकजना, इन्जिनियर एक जना, नायव सुव्वा एक जना, कम्यूटर खरिदार एक जना, कार्यालय सहयोगी एक जना गरि ६ जना कर्मचारी कार्यरत रहेका छन् ।
राखेप अन्तर्गत हाल पोखरामा कार्यरत कर्मचारीहरुलाई एक साता भित्र प्रदेश खेलकुदमा हाजिर हुन र यदि हाजिर भई कामकाज गर्न नपर्ने भए सोको कारणसहित जानकारी गराउन समेत पत्रमा भनिएको छ ।
साथै, राखेप अन्तर्गत कार्यरत कर्मचारीहरुको विदा स्विकृती तथा हाजिर प्रमाणित प्रदेश खेलकुदले गर्ने भएको पत्रमा जनाइएको छ । साविक क्षेत्रिय खेलकुद पोखरामा कार्यरत कर्मचारीहरुलाई आफ्नो तहगत विवरण र संचिती विदा संगै जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको आ–आफ्नो विवरण प्रदेश खेलकुद गण्डकीमा बुझाउन पत्रमा उल्लेख गरिएको छ ।
स्मरणिय के छ भने यस अघि गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारीहरु प्रदेश खेलकुद परिषद अन्तर्गत कार्यरत रहेका छन् ।
