
पोखरा स्पोर्टस । पोखरा कप अन्तर क्लवस्तरिय खुला पुरुष भलिबल प्रतियोगिता पुष १४ गते देखि १६ गते सम्म हुने भएको छ ।
रेवान पोखराले आयोजना गर्ने ‘२५ औं सडक महोत्सव’को सन्दर्भ समेत जोडर पोखरा वडा नं ६ बसुन्धरा पार्कस्थित भलिबल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले जनाएका हुन् ।
‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने उद्धेश्यका साथ आयोजना हुने उक्त प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको समन्वय तथा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ । प्रतियोगितामा कुल १२ क्लवहरुको सहभागिता हुने अपेक्षा रहेको अध्यक्ष लामिछाने पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७ सय ७७ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ । त्यसै विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागिता जनाउने क्लवहरुले एक टिममा दुई राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९३ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ ।
पत्रकार सम्मलेलनमा पोखरा महानगर शिक्षा विभाग प्रमुख हेम प्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितका अध्यक्ष दिपक बहादुर गोदार, रेवान सचिवालय प्रमुख कमलराज कोइरालालगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताका सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका, पोखरा महानगरपालिका खेलकुद विकास समिति, पोखरा महानगरपालिका शिक्षा महाशाखा, रेबान पोखरा, नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, टाइगर ग्रुप अफ पोखरा, वडा प्रहरी कार्यालय बैदाम रहेका छन् ।
