आर्मी केपी ओली कप क्रिकेटको उपाधि नजिक

पोखरा स्पोर्टस । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे । कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले ।

बागमतीका कप्तान सन्दिपले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए ।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए ।

आर्मीले उपाधिका लागि मधेश प्रदेश संग शुक्रबार भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close