
पोखरा स्पोर्टस । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राखेपको कार्यशैली प्रति प्रश्न उठाउँदै शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले राखेपको काम चुस्त दुरुस्त पार्नका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यो अझैंसम्म नभएको भन्दै पुनः युवा तथा खेलकुदमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले अब पनि छलफलबाट समस्या समाधान नभए सशक्त प्रतिकार गर्ने निर्णय समेत् गरेको छ ।
यसैगरी बैठकले संघको अधिवेशन सम्बन्धमा प्रदेश र केन्द्रीय तहमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी संघको कार्यलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यसम्पादन समिति गठन गर्ने निर्णयका साथै संघको केन्द्रीय कार्यालय स्थापना गर्ने निर्णय गरेको महासचिव सुवोध प्रधानले जानकारी दिए ।
यसैगरी मैंयादेवी यू १९ क्रिकेट प्रतियोगिता पुष २२ गतेदेखि सञ्चालन गर्ने र त्यसको आयोजक लोकतान्त्रिक खेलकुद संघ रहने निर्णय पनि गरिएको छ ।
यस्तै, गणेशमान स्मृति वुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि गर्ने र त्यसको पनि आयोजक लोकतान्त्रिक खेलकुद संघ नै हुने निर्णय गर्ने जनाएको हो ।
मंगलबारको बैठकले जाजरकोट भूकम्पका विषयमा निर्णय गर्दै पार्टीको दैवि प्रकोप उद्दार समितिमा केन्द्रिय कार्यसमितिमा रहेका प्रत्ययेक सदस्यले जनही २ हजार रकम संकलन गरेर हस्तान्तरण गर्ने निर्णय समेत गरेको अध्यक्ष शेरचनले जानकारी दिएका छन् ।
