१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ ।

शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।

हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले जानकारी दिएका छन् । १६ औं सस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन बास्केटबल कोर्टमा गर्ने गरि तयारी भएको संयोजक शर्माले जानकारी दिए ।

हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिए ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने संयोजक शर्माले बताए । उनले भने–“यो प्रतियोगिताका लागि मात्रै आयोजना होइन । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने दोश्रो तर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो ।”

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ८ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्नेे प्रचार प्रसार उपासमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । १५ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close