
पोखरा स्पोर्टस । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ सम्पन्न भएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय र ढोरपाटन नगरपालिकाको सहयोगमा गत शुक्रबारदेखि शुरु भएको सेमिनार आइतबार सम्पन्न भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको सेमिनारको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले समापन गरे । उनले सेमिनारमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सेमिनारमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । पहिलो पटक हाई अल्टिच्यूडमा गरिएको सेमिनारले खेलाडीमा आत्मबल बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा पनि यसले महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मालिका गाउँपालिका, म्याग्दीका अध्यक्ष बेगबहादुर गर्बुजाले हालसम्म खेल क्षेत्र राज्यको तिनै तहका सरकारको नजरमा नपरेको स्विकार गरे । उनले राष्ट्रलाई चिनाउने खेल क्षेत्रको विकासमा सबै तह लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका –९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगर, पूर्व वडाध्यक्ष जीवन पुन, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश आईटीएफका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगर, गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघ तथा बागलुङ जिल्ला आईटीएफका उपाध्यक्ष फारम बहादुर महत, नेपाल आईटीएफका केन्द्रिय सदस्य तथा तथा रुकुम जिल्ला आईटीएफका अध्यक्ष विजय पुन मगर, गुल्मी जिल्ला आईटीएफका अध्यक्ष विर कुँवर लगायतले तीन दिनको बसाँईमा सिकेका सिपलाई व्यहारमा उतार्न खेलाडीहरुलाई आग्रह गरे ।
सेमिनारमा मार्सल आर्टका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पे सियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको नेपाल आईटिएफ तेक्वान्दो संघका महासचिव घम थापाले जानकारी दिए । सेमिनारले नेपालकै एक मात्रै आरक्ष केन्द्र ढोरपाटनको प्रवद्धन र खेलाडीहरुमा विभिन्न प्राविधिक ज्ञान हासिल गर्न सघाएको उनले दावी गरे ।
पुथा, चुरे, गुर्जा , धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरी हिमालको काखमा गरिएको सेमिनारमा विभिन्न जिल्ला तथा प्रदेशबाट सहभागिता रहेको थियो ।
सेमिनारमा नेपाल आईटिएफ टेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा रेफ्रि सह–संयोजक आकाशचन्द्र घर्तीमगर र गण्डकी प्रदेश टेक्वान्दो संघका सदस्य एवं बाग्लुङ जिल्ला आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष फारम बहादुर महतले सहजीकरण गरेका थिए ।
नेपाल आईटिएफ तेक्वान्दो महासंघका महासचिव तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आईटिएफ गण्डकीका सचिव प्रतिक घर्ती मगरले समेत आफ्ना भनाई राखेका थिए ।
