
पोखरा स्पोर्टस/तस्विर: योगेन्द्र श्रेष्ठ । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे ।
लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अभिनास बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो ।
गण्डकी संग एक खेल गुमाएको एपिएफलाई सेमीफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नु पर्ने दवावमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।
यता बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहमद हुसेनले १ विकेट हात पारे ।
समुह ‘बि’मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अंक छ । सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार समुह बी अन्तर्गत गण्डकी र लुम्विनी तथा दोश्रो खेल समुह सि अन्तर्गत रहेको विभागिय टिम नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुनेछ ।
