नवलपुरमा हुने भयो गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड, पालिकाहरुले गरे सहयोगको प्रतिवद्धता

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा आयोजना हुने भएको छ ।

जिल्लाका ८ वटै स्थानिय तहहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा आयोजना हुने भएको हो । पुस २६ देखि २८ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि सोमबार नवलपुरमा भएको सरोकारवालाहरु सहितको बैठकले प्रतिवद्धता जनाएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

“हामीले गत कार्तिक १५ गतेको बैठकले प्रदेशको खेलपर्यटन मार्फत खेल विकासका लागि प्रतियोगिताहरुलाई जिल्लाहरुको पालो–पालो गरि विकेन्द्रित गर्ने निर्णय गरेका थियौं” सदस्य सचिव शर्माले भने–“आज त्यही आधारमा नवलपुरले महत्वपूर्ण निर्णय मात्रै गरेको छैन स्थानिय तहहरुले समेत प्रतियोगिता आयोजना हुँदा बढ्ने लागत खर्च समेत सहयोगका लागि प्रतिवद्धता जनाएका छन् । यसका लागि परिषदका तर्फबाट म सरोकारवाला सम्पूर्णलाई आभार व्यक्त गर्न चाहन्छु ।”

“हामीले ‘जिल्ला खेलकुद विकास समितिबाट लिखित प्रस्ताव आए पछि प्रक्रिया अगाडी बढाउने तथा प्रदेशको आयोजक समितिले अनुगमन गरेर हामीले अन्तिम निर्णय गर्छौँ”, सदस्य सचिव शर्माले भने । “‘स्थानिय तहरुको समेत प्रतिबद्धता आएको छ, नवलपुरमा प्रतियोगिता हुने सम्भावना धेरै नै छ”, उनले भने ।

पुस २६ देखि आयोजना हुने प्रतियोगितामा ६ वटाको विधाका १२५४ खेलाडी तथा ९६ जना रेफ्री र प्रशिक्षक गरेर कुल १३५० जना सहभागी हुने छ्न ।

हरेक पालिकाहरुले एक–एक खेल आफ्नो पालिका अन्तर्गतका खेल मैदानमा सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाएका छन् भने उद्घाटन तथा समापन खेलहरु कावासोती स्थित नवदुर्गा खेल मैदानमा हुने गरि प्रारम्भिक निर्णय गरिएको छ ।

प्रतियोगितामा छात्र/छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र उसुका खेल सन्चालन हुने छ्न । प्रतियोगिताका लागि ३२ लाख ९१ हजार बजेट लाग्ने र गैंडाकोट, कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाले ५/५ लाख तथा हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले ३/३ लाख दिने प्रतिबद्धता व्यक्त गरेका जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता एवं गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिको प्रमुख आतिथ्थ्यतामा सम्पन्न बैठकमा पूर्व आर्थिक मामिला मन्त्री रोशन बहादुर गाहा मगर, नवलपुरका सवै प्रदेश सांसदहरु, चार वटा नगर पालिका प्रमुख र चार वटा गाउँपालिका अध्यक्षहरु समेत सहभागिता रहेको सदस्य सचिव शर्माले बताए ।

सम्पन्न बैठकमा गैडाकोटका प्रमुख मदन भक्त अधिकारी, देवचुलीका प्रमुख हरि न्यौपाने, कावासोतीका प्रमुख विष्णु भुसाल, मध्यविन्दु नगर पालिकाकी उपप्रमुख पूर्ण कुमारी चौधरी, विनय त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम चौधरी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला शिक्षा समन्वय समित, प्यावसन, एन प्यावसन, जिल्ला खेलकुदका पदाधिकारीहरु, विभिन्न खेल संघका अध्यक्षहरु, शुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close