
पोखरा स्पोर्टस । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता विरेन्द्रनगरको सुर्खेतमा आगामी पुष २० देखि २५ गते सम्म हुने भएको छ ।
नेपाल भलिबल संघले शनिबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो । संघका उपाध्यक्ष याम गुरुङका अनुसार प्रतियोगितामा सातै प्रदेश र ३ विभागिय टोली गरी कुल १० टिमको सहभागिता हुनेछ ।
नेपाल भलिबल संघको आयोजना, कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापन तथा कर्णाली प्रदेश सरकारको सहयोगमा सम्पन्न हुने उक्त प्रतियोगिता सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिता उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेश्रो हुने टिमलाई नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्र उपलव्ध गराइनेछ । त्यसै गरी उत्कृष्ट खेलाडीलाई जनही नगद १० हजार सवै विद्यामा उत्कृष्ट हुनेलाई जनही समान नगद रु ५–५ हजार प्रदान गरिने छ ।
