
पोखरा स्पोर्टस । ‘शान्ति, सद्भाव र एकताः राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल उद्धेश्यका साथ आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको बिजेता खेलाडीहरुको पुरस्कार राशी वृद्धि संगै सरप्राइज गिफ्ट समेत प्रदान गरिने भएको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सले तयारी अन्तिम चरणमा पुगेको बताउँदै पुरस्कार राशीमा समेत वृद्धि गर्ने जनाएको हो । आगामी मंसिर ९ गते आयोजना हुने नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गरेको छ ।
संस्थापक अध्यक्ष टीएस ठकुरीका अनुसार प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।
नेपालगन्ज म्याराथनमा बिभिन्न क्षेत्रका सफल दर्जन बढी व्यक्तिहरु पनि ऐक्यवद्धता संगै म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिने भएको छ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ । साथै, नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिने भएको छ ।
‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिने भएको आयोजकले जनाएको छ ।
नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी, पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, लगायत रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए ।
त्यसै गरि महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।
पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथनलाई प्रदेश खेलकुद परिषदले बिशेष सम्पत्तिका रुपमा लिएको बताए । ‘लुम्बिनी प्रदेशमा नौ बर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन र गत बर्ष सुरु भएको लुम्बिनी म्याराथनलाई बिशेष सम्पत्तिका रुपमा अगाडि बढाउने गरी बार्षिक क्यालेन्डरमा समावेश गरेका छौं ।’ उनले भने–’हरेक हिसाबले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
त्यसैगरी टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर जोडिन पाउँदा गौरव लागेको बताए । सिंगो नेपालगन्जवासी र बाँके जिल्लाबासीको सहयोगले यो क्रमिक सफलताको उचाइ चढ्दै गएको उनले चर्चा गरे ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ ।
