
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभाका लागि भएको मताधिकार प्रतिनिधी छनौट कार्यक्रम विवादमा परेको छ ।
गण्डकी प्रदेश फुटबल संघले बिहिबार तनहुँको आँबुखैरेनीमा गरिएको भनिएको मताधिकार प्रतिनिधी छनौट कार्यक्रम विवादमा परेको हो । केन्द्रिय एन्फाले मताधिकार प्रतिनिधी छनौटका लागि चार जना प्रतिनिधीहरु पोखरा आएका थिए । एन्फाले पोखरामा नै मताधिकार प्रतिनिधी छनौटका लागि स्थान र मिति समेत तोकेको थियो । तर गण्डकी प्रदेश फुटबल संघले उनीहरुको वेवस्ता गर्दै तनहुँको आँवुखैरेनीमा मताधिकार प्रतिनिधी छनौट सम्पन्न गरेको छ ।
एकै मितिमा गरिएको मताधिकार प्रतिनिधी छनौटमा पोखरामा दुई र तनहुँमा ६ जिल्ला सहभागि भए । बहुमत पक्ष तनहुँमा सहभागि भए पछि केन्द्रिय प्रतिनिधी टोली रित्तो हात काठमाण्डौ फर्किएको छ । केन्द्रले मताधिकार छनौटका लागि एन्फा उपाध्यक्ष द्वय दिपक खतिवडा र दावा लामा, केन्द्रिय सदस्य महेन्द्र क्षेत्री र सहायक महासचिव दामोदर भट्टराई बद्री रहेका थिए ।
उता गण्डकी प्रदेश फुटबल संघले तनहुँमा सम्पन्न गरेको प्रतिनिध छनौटमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष विर बहादुर खडका लगायतका प्रतिनिधिहरु खटिएका थिए । वरिष्ठ उपाध्यक्ष खड्का एन्फा निर्वाचनको बेला एन्फा अध्यक्ष पकञ्ज विक्रम नेम्वाङ निकट रहे पनि केही वर्ष यता नेम्वाङ विरुद्ध खुलेर लागेका छन् ।
यता एन्फाले पठाएका प्रतिनिधीहरु कुन आधिकारिक हुन प्रश्नहरु उठिरहेको मताधिकार प्रतिनिधी छनौटमा विवाद उत्पन्न भए पछि प्रदेश खेलकुद परिषद गण्डकीले यस तर्फ आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ ।
परिषद अन्तर्गत रहेको प्रदेश फुटबल संघले मताधिकार प्रतिनिधीमा परिषदलाई कुनै निमन्त्रणा र समन्वयका लागि नभनेको सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“कम्तिमा परिषदले समन्वयको भूमिका निर्वाह गर्ने थियो । तर फुटबल संघले यस बारे जानकारी दिएन । न त केन्द्रले नै कुनै जानकारी नै दियो । न त केन्द्रिय प्रतिनिधीहरुले समन्वय गरे ।”
प्रदेशका सबै खेलकुदहरु संघहरुको आधिकारिक निकाय प्रदेश खेलकुद परिषदलाई जानकारी नदिई गरिएकोले मताधिकार प्रतिनिधी छनौट के हुने भन्ने बारे अहिले नै भन्न नसकिने परिषद सदस्य सचिव शर्माले जनाए ।
“आधिकारिक निकायमा खबर नै नगरी कुनै परिषदका प्रतिनिधीहरु समेत उपस्थित नगराई कुनै पनि संघलाई आफ्नो मनोमानी गर्ने अधिकार कसैलाई छैन”,–उनले भने–“कम्तिमा हामी हिजो तय भएको मताधिकार प्रतिनिधी छनौटमा सहभागि भएको भए यर्थाथ कुरा आउने थियो । हामीले विगतमा जस्तै विवाद समाधानमा सम्न्वयकारी भूमिका निर्वाह गर्ने थियौं ।” तनहुँमा भएको कार्यक्रममा परिषदको परिपत्र बमोजिम खादाको प्रयोग गरिएकोमा समेत ध्यानकृष्ट भएको उनले बताए ।
यता कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितले प्रतिनिधी छनौट कार्यक्रम केन्द्रको पत्र बमोजिम पोखरामा गर्ने तय भएकोले आफूहरुलाई अन्य विषयमा जानकारी नभएको बताए । केन्द्रिय प्रतिनिधी चारै जना पोखरा आएको बताउँदै पोखरामा नै तय गरिएको भेला तनहुँमा अन्तिम समयमा प्रदेश फुटबल संघले सारेको र आफूहरुलाई समेत अन्तिम समयमा खबर गरिएको बताए । उनले भने–“केन्द्रले नै पोखरा भनेर तोकेको छ । मिति तोकेको छ । प्रतिनिधी पठाएको छ । हामी किन तनहुँ जाने ? हामीलाई अन्तिम समयमा खबर गरियो । अब केन्द्रले जे निर्णय गर्छ हामी त्यही अनुसार चल्छौं ।”
गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मताधिकार प्रतिनिधी छनौटको विषय नितान्त प्रदेशको अधिकार रहेको बताए । उनले केन्द्रले मताधिकार प्रतिनिधी छनौटमा समेत ठाडो हस्तक्षेप गरेको बताउँदै भने–“केन्द्रले आफ्नो अनुकुल होइन प्रदेश संघले आफ्नो अनुकुल गर्छ । यो हाम्रो अधिकारको विषय हो । हामीले निर्वाचन समिति बनाएर निर्णय गरेका छौं । दुई जिल्ला सहभागि भएनन यो उनीहरुको विषय हो ।”
केन्द्र देखि प्रदेश हुँदै जिल्ला सम्म पुगेको एन्फा विवादले फुटबलको विकास धराशायी बन्दै गएको छ भने राष्ट्रिय खेलाडीहरु विदेश पलायन हुन थालेका छन् । विवादकै कारण एन्फाका धेरै कार्यक्रमहरु अलपत्र बनेका छन् भने खेलाडी उत्पादन शून्य अवस्थामा पुगेको छ । एन्फाको नेतृत्व हत्याउने विवादले छरपष्ट भएको नेपाली फुटबललाई अव सहि नेतृत्वको खाँचो रहेको फुटबल प्रेमीहरुले आवाज उठाउन थालेका छन् ।
एन्फाको केन्द्रिय विशेष साधारण सभा कार्तिक २३ गते हेटौडामा हुने भएको छ ।
