
पोखरा स्पोर्टस । बहाराइनमा सञ्चालन हुने ‘विली जेन किङ कप’ र डेभिस कप टेनिसमा सहभागि हुने नेपाली राष्ट्रिय खेलाडी द्वय प्रदिप खड्का, अभिषेक बास्तोला तथा टिम म्यानेजर नविन चालिसेलाई बिदाई गरिएको छ । कास्की जिल्ला टेनिस संघले नेपालीहरुको चाड दशैैको शुभकामना आदान प्रदानका लागि बिहिबार आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई बिदाई गरिएको हो । नेपाली टेनिस खेलको इतिहासमा नै नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
नेपालका नं १ टेनिस खेलाडी प्रदिप र विश्व वरियतामा १९७० र्याकिङ खेलाडी अभिषेकसहित चार नेपाली खेलाडीले यहि अक्टोबर २३ बाट सुरु हुने डेभिसकपमा सहभागिता जनाउने भएका हुन् । नेपाली खेलाडीको टिम म्यानेजरको रुपमा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे रहेका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित १४ देशका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । प्रतियोगितामा टेनिस र्याकिङ मुलुकका खेलाडीहरुको सहभागिता हुने भएकोले पनि ‘डेभिस कप’ लाई वर्ल्ड कपको रुपमा हेरिन्छ । नेपालबाट सहभागि हुने चार खेलाडी मध्ये प्रदिप र अभिषेक हालै चिनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा सहभागि थिए ।
उनीहरुलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङ, कास्कप् टेनिसका सल्लाहकार सूर्य भुजेललगायतले शुभकामना सहित बिदाई गरेका थिए ।
सो अवसरका बोल्दै सांसद बरालले पोेखरालाई अन्तर्राष्ट्रियस्तरमा नै टेनिस गन्तव्य बनाउन खेलेको भूमिकामा कास्की टेनिसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको डेभिस कपमा सहभागि हुने खेलाडीलाई जितको शुभकामना दिए । “हिजो टेनिस कठिन घडीको परिस्थितीमा समेत आफूलाई उभ्याउन भूमिका खेलेको छ । मह पनि त्यसको साक्षी किनारा हुन पाउँदा गौरव लागेको छ,” उनले भने–“पोखराबाटै २–२ जना खेलाडी डेभिस कपमा सहभागि हुनु आफैमा गौरवको विषय हो । म दुवै खेलाडीलाई जितको शुभकामना दिन चाहन्छु ।”
सांसद बरालले पोखराको खेलकुदको गौरव बढाउन तथा पोखराको पर्यटन क्षेत्रको खस्किंदो अवस्थालाई सुधार्न अन्तर्राष्ट्रिय आइटिएफ जुनियर टेनिस खेल प्रतियोगिताको भूमिका रहेको जनाउँदै उनले प्रतियोगिता आयोजनाका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने–“यो पोखराकै गौरव बढाउने प्रतियोगिता हो । गण्डकी प्रदेश सरकार र अन्य संस्थाहरुलाई प्रतियोगिता सफल बनाउन सहकार्यका लागि आग्रह गर्दछु ।”
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले संघियता प्राप्ती पछिको लामो अवधि पछि संघियता बमोजिम प्रदेश खेलकुदले प्राप्त गर्ने अधिकारहरु क्रमश प्रदेशले प्राप्त गर्न लागेको उल्लेख गर्दै स्थानिय सरकार र राष्ट्रिय खेलकुद परिषद संग सहकार्य गर्दै यहाँको खेल गतिविधिलाई अझै तिव्र बनाउने उनले बताए । आइटिएफ टेनिस जुनियर टेनिस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न परिषद तयार रहेको उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा कास्की टेनिसका सल्लाहकार एवं पर्यटन व्यवसायी सूर्य भुजेलले आइटिएफ टेनिस जुनियर टेनिस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्य बनाउन महत्वपूर्ण भूमिका रहेको बताउँदै यसको शाख र गरिमालाई जोगाई राख्न सबैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरे ।
कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले कास्की टेनिसले टेनिस खेलको विकासमा निरन्तर गरेको प्रयासका कारणले नै डेभिस कप टेनिसको इतिहासमा पहिलो पटक नेपालले सहभागिता जनाउन पाउनु गौरवको विषय रहेको बताए । उनले पोखरामा सञ्चालन हुन गइरहेको आइटिएफ टेनिस जुनियर टेनिस प्रतियोगितालाई सफल बनाउन सबैको सहकार्य र सहयोग आवश्यक रहेको औंल्याउँदै हाल सम्म ३ सय भन्दा वढि खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिए ।
सो अवसरमा नेपालका न ं१ टेनिस खेलाडी प्रदिपले आफ्नो मेहनतका कारणले नै आज आफू १९ औं एसियाली खेलकुद हुँदै डेभिस कपको यात्रा गर्न सक्षम हुन सकेको बताउँदै खेलकुदमा नेतृत्वदायी भूमिकामा रहेका हरुले खेलाडीहरुको समस्या नजिकबाट बुझेर समाधान गर्न आग्रह गरे । उनले भने–“हामीले कुनै गल्ती नर्गदा पनि कहिले काँही अनुशासनको कुरा लाद्ने गरिन्छ । यो गलत हो । हामीलाई हौसला दिनुहोस । सहयोग गर्नुहोस । हामी उच्च मनोबलका साथ नतिजा दिने गरि खेल मैदानमा उभिने छौं ।” उनले आगामी चार वर्ष पछि नागोया एसियाडका लागि पनि आफू त्यही रुपमा तयार रहने बताए ।
अर्का खेलाडी अभिषेकले सबैको प्रेरणा र पारिवारिक सहयोगका कारण आफूले टेनिसलाई जिवनको अभिन्न अंङ्गको रुपमा लिएर अघि बढेको बताउँदै डेभिस कपमा समेत आफूले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवंं खेल पत्रकार केशव पाठक, बिनोद लामिछाने, कास्की टेनिसका उपाध्यक्ष एवं नेपाली टिमका म्यानेजर नविन चालिसे, संघका सचिव नविन श्रेष्ठले आफ्ना भनाई राखेका थिए ।
सो कार्यक्रममा कास्की टेनिसका संस्थापक एवं नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थकी आमा र टेनिस प्रेमी सरिता शेरचनकी आमा तथा अग्रज खेलाडी समिर शेरचनकी सासु आमाको स्वर्गारोहण प्रति दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
