
पोखरा स्पोर्टस । १५औं संस्करणको काठमाण्डौ म्याराथनको सम्पूर्ण तयारी पुरा भएको छ । भोली (शनिबार) आयोजना हुने म्याराथन अन्तर्गत म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी, खुल्ला, स्कूल, फ्यामीली रन गरी विभिन्न विधामा प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत म्याराथनमा १२ जना, हाफ म्याराथनमा १६ र ५ किमी ओपनमा ३ गरी गरी जम्मा ३१ ले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा भारत बाट ३, जापान बाट २, जर्मनी बाट ४, ब्राजिल बाट १ र अन्य देश २० गरी ३० जना विदेशीले भाग लिंदै छन्। नेपालबाट सुशान्त डोटेलले हाफ म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै सो कार्यक्रम अन्तर्गत आमन्त्रित हिडाइ समेत आयोजना हुने छ।
यस वर्ष पुरस्कार राशिमा म्याराथन तर्फ पुरुष र महिला विजेतालाई समान नगद रु १–१ लाख उपविजेतालाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने लाई २५ हजार प्रदान गरिनेछ।
आयोजकले राखेपको प्राङ्गण भित्र नेपालमै पहिलो पल्ट स्पोर्ट्स फेयरको पनि आयोजना गरी टिसर्ट र विव त्यही बाट वितरण गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको सहकार्यमा नेपाल रन्स फर डिजिटल हेल्थ नारा सहित हुने म्याराथनमा मन्त्रालयको ९० दिन देशभरका पालिका हरुमा गर्ने कार्यक्रमको सुरुवात पनि काठमाडौं म्याराथन बाट सुरुवात गरिएको छ।
यस वर्षको कार्यक्रमको सफलताको लागि इनड्राइभ, सफल दूध, टोयोटा र क्याथे प्यासिफिक लाई प्रायोजकको रूपमा भित्र्याएको छ भने ग्रान्डी हस्पिटलले सम्पूर्ण खेलाडीको लागि मेडिकल सेवा प्रदान गर्ने भएको आयोजकले जनाएको छ ।
यस्तै म्याराथनमा सहभागि सबै खेलाडीहरूको एक दिने बीमा गरीएको छ । खेलाडीहरुको विमा नेको इन्सुरेन्सले गरेको आयोजकले जनाएको छ ।
म्याराथन दौड त्रिपुरेश्वरबाट सुरु भई शहरको विभिन्न भाग परिक्रमा गरि सोही ठाउँमा पुगेर सम्पन्न हुनेछ ।
१५औं संस्करणको काठमाडौं म्याराथनमा सम्पूर्ण तयारी पूरा भए संगैआयोजकले काठमाडौं उपत्यका बासिलाई यस अन्तर्राष्ट्रिय म्याराथनको सफलताको लागि सहयोग मात्र नभई म्याराथनको दिन दौडको समयमा प्रयोग हुने रुटमा सवारी साधन नचलाउन आग्रह गरेको छ । दौड बिहान ७ बजे सुरु हुने छ ।
