
पोखरा स्पोर्टस । पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता सुरु भएको छ ।
पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको सुरु भएको हो ।
बडादशैंको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले मानविय जीवनलाई स्वस्थ र फुर्तिलो वनाउन खेल आवश्यक रहेको वताए । उनले टोल विकास संस्थाहरुले विकास निर्माण र सामाजिक कार्यका अलावा मानव स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्ने वताउँदै, संस्थाले गरेको कार्य उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे ।
संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– २० का वडाध्यक्ष गंगाबहादुर खत्री क्षेत्री, पोखरा–१६ का पुर्व वडाध्यक्ष जीवन आचार्य, गरिमा विकास बंैक वाटुलेचौर शाखाका प्रमुख कमल सुवेदी लगायतकाले राजपधेरा टोल विकास संस्थाले गरेका कार्यको अरु संस्थाले पनि सिको गर्नुपर्ने औल्याए ।
कार्यक्रममा स्थानिय कलाकार इशु गुरुङ, प्रतिमा गुरुङ, राजेश तामाङ र खुशीमान गुरुङले मौलिकता झल्कने साँस्कृतिक झ्याउँरे नृत्य प्रस्तुत गरेका थिए ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएको भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिए ।
लिगका आधारमा संचालन हुने खेलमा भलाम १, भलाम २, ठाँटी, मैदान,नमुना क्लव, चनौटे १, लामाचौर, अम्विका टोल, आयोजक राजपँधेरा र अर्मलाकोट गरी १० वटा भेट्रान्स टिमको सहभागिता रहेको छ ।
“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ आयोजना गरिएको कार्यक्रममा आईतवार अन्तिम दिन भलिवलको फाइनल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम संचालन हुने वताईएको छ । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले बताए । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।
