
पोखरा स्पोर्टस । सातौं अन्तर्राष्ट्रिय हेमजा युनाइटेड गोल्डकपमा दुई विदेशीसहित ८ टिम भिड्ने भएका छन् ।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल उद्धेश्यका साथ पोखरा २५ स्थित हेमजा युनाइटेड क्लबले आयोजना गर्ने उक्त प्रतियोगितामा ८ टिम भिड्ने पक्का भएको क्लबले जनाएको हो । गौरीशंकर खेल मैदानमा कार्तिक ११ देखि १८ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागि हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक इन्द्र बहादुर कुवंरले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा एक मात्र विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लबले सहभागिता जनाउने भएको छ भने आयोजक हेमजा युनाइटेडले आफ्ना दुई टिम मैदानमा उत्राने छ । आयोजक हेमजा युनाइटेड गत वर्षको उपविजेता समेत हो ।
यसै गरि दुई विदेशी टिम मध्ये गत वर्षको उपाधि विजेता समेत रहेको एभिन्यूज क्यामरुन र एकेडेमी रोयल एक्सिलेन्ट क्यामरुन रहेका छन् । प्रतियोगितामा बागमती सर्लाही, राइजिङ स्टार नवलपुर र भरतपुर फुटबल क्लब चितवन प्रतिष्पर्धाका लागि पोखरा आउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५८ लाख ८४ हजार खर्च लाग्ने प्रतियोगितामा उपाधि बिजेता टोलीले नगद रु ६ लाख र उपविजेता हुनेले नगद रु ३ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष राजेश त्रिपाठीले जनाएका छन् ।
हेमजा युनाइटेडले प्रतियोगिताबाट भएको आम्दानीबाट एकेडेमी सञ्चालनलाई निरन्तरता दिने भएको छ भने गौरीशंकर खेल मैदानको संरक्षण तथा स्त्तरोन्नती गर्ने जनाएको छ । क्लबले फुटबल खेलको विकास संगै अन्य सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
