पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिष्ट्रिक्टको साथ

पोखरा स्पोर्टस । १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सामाजिक सेवाको क्षेत्रमा स्थापित संस्था मध्येको एक नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ ले साथ दिने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिष्ट्रिक्ट ३२९२ ले नगद रु ५० हजार सहयोग गर्ने भएको हो । रोटरी क्लब अफ पोखरा फिस्टेलको गर्भनर भिजिटका क्रममा संस्थाका गर्भनर राजेन्द्र प्रसाद धोजुले नगद रु ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष एवं नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमानका अध्यक्ष रोटरियन तेज बहादुर गुरुङका अनुसार रोटरी डिष्ट्रिक्ट ३२९२ का गर्भनर धोजुले नेपालकै चर्चित म्याराथन पोखरा म्याराथन संग जोडिन पाउँदा खुसी लागेको बताउँदै त्यसका लागि आभार समेत व्यक्त गरेको पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गर्भनर धोजुले पोखरा म्याराथनमा सहभागिताका लागि विश्वभरी छरिएर रहेका रोटरी क्लब र रोटरियनहरुलाई आमन्त्रण गर्ने प्रतिवद्धता जनाउँदै सम्पूर्ण रोटरी क्लबहरुलाई पोखरा म्याराथनलाई साथ र सहयोगका लागि आग्रह समेत गरेका छन् । 

सो अवसरमा नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गर्भनर नोमिनी बिनोद कोइराला, एसिष्टेन्ट गर्भनर पुरन कुंवर, डिष्ट्रिक्ट सेक्रेटरी दिनेशराज मानन्धर लगायत डिष्ट्रिक्ट अफिसियल लगायत रोटरियनहरुको सहभागिता रहेको थियो । रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष भूपेन्द्र गौचनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय क्लबहरुले पोखरा म्याराथन आर्थिक भौतिक एवं नैतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

विश्वभरी करिब १२ लाख रोटरियनहरु सहस्यहरु रहेका छन् । जस मध्ये नेपालमा रोटरी क्लवहरुको संख्या १६० वटा रहेका छन् जस मध्ये पोखरामा १० वटा क्लबहरु रहेको जनाइएको छ । ति क्लबहरु सोझै नेपाल–भुटान रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका छन् ।  पोखरामा रहेका करिब १ हजार ५ सय रोटरियन, रोट्रक्याटर र इन्टरर्‍याक्टर हरुलाई पोखरा म्याराथनमा सहभागिताका लागि आह्वान समेत गरिएको छ ।  

पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते हुनेछ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close