
पोखरा स्पोर्टस । नेपाल भलिबल संघले कार्वाही गरेका दुई भलिबल रेफ्रिहरु अनिल राना र चित्रजङ्ग गुरुङका कारण स्याङ्गजा जिल्ला भरिका राष्ट्रिय भलिबल रेफ्रिहरु सुचिकृत, अभिलेकिरण र नविकरण हुनबाट बञ्चित भएका छन् ।
कार्वाही परेका रेफ्रिहरुले आफूलाई विना कारण संघले कार्वाही गरेको भन्दै कार्वाही फुकाउन दबाव दिन भन्दै स्याङजा जिल्ला भरिका रेफ्रिहरुलाई सुचिकृत,अभिलेकिरण र नविकरण हुनबाट बञ्चित गराएका हुन् । नेपाल भलिबल संघले असार २३ देखि ३० गते सम्म काठमाण्डौमा सम्पन्न एनभिए कप भलिबल लिगमा विवादित खेलका मुख्य रेफ्रिमा चित्र जंग गुरुङ र सेकेन्ड रेफ्री अनिल राना थिए । उनीहरु दुबै जना स्याङ्गजाका हुन् ।
सो कार्वाही अन्तर्गत नेपाल आर्मी र गण्डकी प्रदेश विचको खेलमा समितिले विवादित खेलका रेफ्रिहरु गुरुङ र रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नपाउने गरी संघले कार्वाही गरेको थियो । संघका महासचिव रोशन श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिले उनीहरुलाई कार्वाही गरेको थियो ।
नेपाल भलिबल संघले देशभरिका राष्ट्रिय, प्रादेशिक अन्तर्राष्ट्रिय भलिबल रेफ्रिहरुलाई गत भदौ १५ गते सम्म सुचिकृत, अभिलेकिरण र नविकरण हुन सूचना जारी गरेको थियो । तर गुरुङ र रानाले आफूहरुले केन्द्रको निर्णयको अवज्ञा गर्दै सुचिकृत, अभिलेकिरण र नविकरण गरेनन् भने जिल्ला भरिका रेफ्रिहरुलाई कार्वाही विरुद्ध विरोधमा उत्रिनु पर्ने बताउँदै सबै रेफ्रिहरुलाई सोबाट बञ्चित समेत गराएका छन् । नेपाल भलिबल संघका लागि यो अनौठो र अचम्भ लाग्दो घटना पहिलो पटक घटेको हो ।
स्याङजाका करिव २३ जना रेफ्रिहरु सूचिकरण र अभिलेखिकरण वापतको रकम प्रति व्यक्ति नगद रु २ हजार ५ सय उठाएर गुरुङ र रानाले आफूहरु संगै राखे पछि रेफ्रिहरु सुचिकृत, अभिलेकिरण र नविकरणनै हुन नपाएका हुन् । स्याङ्गजा जिल्ला भरिका रेफ्रिहरु सुचिकृत, अभिलेकिरण र नविकरणहुनबाट बञ्चित भए पछि यसले ठूलो बिवाद समेत निम्तिएको छ ।
भदौ १५ गते सम्म गुरुङ र रानाले सुचिकृत, अभिलेकिरण र नविकरण नगरेपछि नेपाल भलिबल संघले उनीहरुको नाम रेफ्रि अभिलेखिकरणबाट हटाएको पत्र जिल्ला भलिबल संघलाई समेत जानकारीका लागि पठाएको छ ।
स्याङ्गजा जिल्ला भलिबल संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले आफूले उनीहरुलाई रेफ्रिहरुको रकम संघमा पठाउन पटक–पटक आग्रह गरेको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“मैले उनीहरुलाई त्यसो नर्गन र रकम केन्द्रिय संघलाई पठाउन भने तर उनीहरुले मैले भनेको मानेनन् । अब केन्द्रले जे निर्णय गर्छ हामी त्यही कदम चाल्छौं ।”
यता नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष एवं रेफ्रि कमिसनका सदस्य समेत रहेका याम बहादुर गुरुङले रेफ्रिद्वय गुरुङ र रानाले गल्ति माथि गल्ति गर्दै गएको बताए । “मैले आफू गण्डकी प्रदेशको हुनुको नाता पटक-पटक सम्झांए तर उनीहरुले मानेनन् । यसरी व्यक्ति नै संस्था प्रति जाई लाग्नु ठिक होइन”, उनले भने–“उनीहरुका कारण स्याङजा जिल्ला भरिका रेफ्रिहरुको विषयमा के गर्ने भन्ने बारे बैठक बाटै निर्णय हुनेछ ।” उनले यो घटनाले आफूलाई निकै मर्महात बनाएको समेत उल्लेख गरे ।
