एसियाली खेलकुद एथलेटिक्समा गोपिचन्द्रले गरे समयमा सुधार

पोखरा स्पोर्टस । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरेका हुन् । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।

विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७।४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् ।

भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयसाथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए ।

नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close