
पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी भारोत्तोलनमा विकास भट्टको चुनौती समाप्त भएको छ । भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन् ।
स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भएका हुन् । तेश्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । उनले १२५ केजी वजन उठाउन सकेनन् ।
क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै (१४५ केजी) वजन उचाल्न सफल भए ।
तेश्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । १५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । कूल २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ ।
अब भारोत्तोलन नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।
