
पोखरा स्पोर्टस । मार्शल आर्ट खेलमा आफ्नो बेग्लै पहिचान बनाएको खेल हाप्कीडोको गण्डकी प्रदेश अध्यक्षमा खेम बहादुर गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्मपन्न गण्डकी प्रदेश हाप्कीडो संघको प्रथम अधिवेशनले उनलाई अध्यक्षमा निर्वांचित गरेको हो । संघको दुई उपाध्यक्षमा कृष्ण प्रसाद कोइराला र खरमाया विटालु जुग्जाली, सचिवमा ओमकार थापा र कोषाध्यक्षमा मदन कुमार जिसी सर्वसम्मत निर्वाचित भए ।
त्यसै गरि कार्यसमितिको सदस्यमा नरेन्द्र कुमार कार्की, श्याम बहादुर श्रेष्ठ, भिम बहादुर कुंवर, सवी शेरचन, विना कुमारी पुन, दिनेश कुमार लामिछाने, अजिम बक्स मियाँ र कृती गिरी निर्वाचित भएका छन् ।
यस अघि अधिवेशनको उद्घाटन् गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले हाप्कीडोले पछिल्लो समयमा गरेको विकास निकै प्रशंसनिय रहेको उल्लेख गर्दै संख्यामा भन्दा गुणात्मक रुपमा खेलकुदको विकास आवश्यक रहेको बताए । खेलकुदको परिभाषामा विविधता रहेको उल्लेख गर्दै सांसद बरालले हाप्कीडो खेलको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका निमित्ति सदस्य सचिव केशव पाठकले प्रदेशको खेलकुद विकासका लागि योजनावद्ध रुपमा परिषदले आफ्ना योजनाहरु अघि सारेको बताए ।
नेपाल हाप्कीडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसियाली हाप्कीडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्कीडोले खेलमात्रै नभई खेलाडीलाई आत्मनिर्भर बनाउने गरि संघले आफ्ना योजनाहरु बनाएको बताए । उनले खेलमा अनुशासन संगै जिविकोपार्जन समेत नजोडे सम्म कुनै पनि खेलले विकास गर्न नसक्ने बताउँदै हाप्कीडोलाई ७७ जिल्लामा पुर्याउने लक्ष्यका साथ संघले अधि बढेको बताए ।
प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारामायाँ थापा मगरले खेलकुदलाई समाज रुपान्तरणको अघि बढाउन सबैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहने कुरामा जोड दिइन् ।
तदर्थ समितिका अध्यक्ष समेत रहेका खेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दिपक थापा, हाप्कीडोका प्रमुख प्रशिक्षक प्रविन गुरुङलागयतले आफ्ना भनाई राखेका थिए ।
