
पोखरा स्पोर्टस । हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन २ खेलाडीको पराजयसंगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।
जुडोमा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए ।
महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो । सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते । उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।
तेक्वान्दो
हाङझाव एसियाडको चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरे ।
लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए । उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।
यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् ।
महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् । यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।
