
पोखरा स्पोर्टस । नेपाली एसियन आर्चरी टोलीलाई उमेन्स क्लव अफ पोखराले टि–शर्ट प्रदान गरेको छ ।
चिनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा रहेको टोलीलाई शुभकामना सहित टिशर्ट प्रदान गरेको हो । क्लवकी अध्यक्ष सारिका गुरुङ, उपाध्यक्ष शान्ती गुरुङले शुक्रबार पोखरा रंगशाला पुगेर खेलाडीहरुलाई टिशर्ट प्रदान गरेका थिए ।
“नेपाली आर्चरी टोलीले उच्च प्रदर्शन गर्न सकोस भन्ने शुभेच्छा सहित हामीले सानो उपहार दिएका हौं” अध्यक्ष गुरुङले भनिन–“हामी सबैको शुभेच्छाले उहाँहरुले पक्कै पनि उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ ।”
उमेन्स क्लवले गरेको सहयोग प्रति टिम प्रशिक्षक तथा नेपाल आर्चरी संघका उपाध्यक्ष बसन्त थकालीले आभार ब्यक्त गरेका छन् ।
१९ औं एसियाली खेलकुदका लागि गत साउन १ गतेबाट ४ जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा योगेन्द्र शेरचन, तिलक पुन मगर, इमायुङ राई र मञ्जु बजगाई रहेका छन् ।
नेपाली राष्ट्रिय टोली असोज ११ गते चिन प्रस्थान गर्ने तय भएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत आर्चरी खेल असोज १४ गते सुरु हुनेछ ।
