
पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटसल टोली पोखरा आएको छ । दुई साताको बन्द प्रशिक्षणका लागि टोली पोखरा आएको हो ।
आगामी अक्टोबर अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुने एएफसी फुटसल एसियन कप क्वालिफायर्सको तयारीको क्रममा टोली पोखरा आएको एन्फा फुटसल प्रमुख बिनोद गुरुङले जनाएका छन् ।
पोखरा रंगशाला बहुउद्धेश्यिय कभर्डहलमा राष्ट्रिय टोलीले प्रशिक्षण गर्ने प्रमुख गुरुङले पोखरा स्पोर्टसलाई बताए । पोखरा आएको टोलीलाई आज पोखरा रंगशालामा प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले स्वागत गरेका थिए ।
फुटसलका मुख्य प्रशिक्षक गौरब बस्नेतको प्रशिक्षणमा रहेका खेलाडीमा गोलकिपरमा आशिष डंगोल र सागर गुरुङ, फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ र सान्जे स्याङ्गतान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी र दिपेश घले तथा पिभोटमा सुजित बुढाथोकी र मणी कुमार लामा रहेका छन् ।
गत वर्ष कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा सहभागि रहेका ५ खेलाडीलाई समेत टिममा समावेश गरिएको छ । जसमा मणिकुमार लामा, सुमित श्रेष्ठ, आदिल हमिद, विजय श्रेष्ठ, सरोज तामाङ रहेका छन् ।
