
पोखरा स्पोर्टस । करिव दुई महिना देखि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली बिहिबार काठमाण्डौ प्रस्थान गरेको छ ।

१९ औं एसियाली खेलकुद अन्तर्गत बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली चिनको हाङझाउ प्रस्थानका लागि काठमाण्डौ हिंडेको हो । प्रस्थान गर्नु अधि टोलीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, कास्की ह्याण्डबलकी उपाध्यक्ष पुष्पा श्रेष्ठ, पोखरा महानगर ह्याण्डबलका अध्यक्ष विशाल बस्नेतले विदाई गरेका थिए ।
सो अवसरमा गुरुङले नेपाली ह्याण्बलले ठूलो अवसर प्राप्त गरेको बताउँदै आफ्नो क्षमता प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । “यो नेपाली ह्याण्डबलको इतिहासमा महत्वपूर्ण समय हो । यहाँहरु एसियाली खेलकुदको महाकुम्भ यहाँहरु जाँदै हुनुहुन्छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै सफलता हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु”–उनले भने ।
१९ औं एसियाली खेलकुदमा महिला तर्फ नेपाल सहित ९ देशको सहभागिता रहेको छ । ग्रुप बिमा रहेको नेपालले आयोजक चिनसहित, जापान, हङकङ र भारत सङ खेल्नेछ ।
एसियाली खेलकुदको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् ।
त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।
चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चिन संग खेल्नेछ ।
नेपाल यहि असोज ४ गते चिन प्रस्थान गर्ने तय भएको प्रशिक्षक विन्दा थापाले जनाएकी छन् ।
