अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, सातै प्रदेशका सदस्य सचिव एकै ठाउँमा

पोखरा स्पोर्टस । प्रदेशहरु सहभागि हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमति प्रदेशमा प्रारम्भिक छलफल सुरु भएको छ ।

नेपालको खेलकुद इतिहासमा नै पहिलो पटक सात प्रदेशहरुको सहभागितामा प्रतियोगिता हुन लागेको हो । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पहिलो पटक बिहिबार हेटौंडामा प्रारम्भिक छलफल सुरु भएको छ । हेटौंडामा सम्पन्न प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले हरेक वर्ष अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

बागमती प्रदेश आयोजक हुने गरि प्रस्ताव गरिएको प्रतियोगिता नेपालमा संघियता प्राप्ती पछिको पहिलो र वृहद् हुने सो बैठकमा सहभागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । पोखरा स्पोर्टस संग कुरा गर्दै सदस्य सचिव शर्माले भने–“नेपालले संघियता प्राप्त गरे पछि यो प्रतियोगिताको तयारी थालिएको छ । त्यसैले पनि आफैमा यो ऐतिहासिक हुनेछ ।”

प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताले संघियताको भावनालाई कार्यान्वयन गर्न खेलकुदको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्ने सदस्य सचिव शर्माले जनाएका छन् । “नेपालको खेलकुद विकास लागि २०७७ सालमा खेलकुद विकास ऐन आयो । त्यसको दुई वर्ष पछि नियमावली तयार भयो । तर अझै पनि ऐनले दिएको अधिकार कार्यान्वयन हुन सकेको छैन”, उनले भने–“यो अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताले इतिहास मात्रै रच्ने छैन यसले खेलकुद विकास ऐन कार्यान्वयनको ढोका समेत खुल्ने छ ।”

बागमती प्रदेशले आगामी फागुन २४ देखि ३० गतेसम्म प्रस्तव गरिएको अन्तर प्रदेश राष्ट्रिय प्रतियोगितामा कम्तीमा १३ खेल समावेश हुने आयोजकले यस अघि नै जनाइसकेको छ ।

बागमतीमा हुने प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगितामा सहभागि हुने प्रदेशहरुले टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको छ । स्थानिय तहबाट नै खेलाडी छनौट गरि प्रदेश टिम बनाउने गरि छलफल भएको भण्डारीले जानकारी गराएका छन् ।

प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेशले यस अघि नै निर्णय गरि सकेको छ भने आवश्यक बजेट समेत विनियोजन भई सकेको भण्डारीले बताएका छन् । प्रतियोगिताका लागि करिव १४ करोड ४० लाख खर्च हुने गरि बागमती प्रदेशले प्रस्ताव गरेको भए पनि अन्य प्रदेशहरुले तयारीका लागि बजेट विनियोजन नभएका कारण प्रदेश सरकार संग आग्रह गर्ने गरि बैठकमा सुझाव आएको सहभागिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close