
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले रिक्त कार्यसमिति सदस्य पदमा मनोनयन गर्ने भएको छ ।
संघको बुधबार (भोली) १३ औं पूर्ण बैठकले रिक्त कार्यसमिति पदमा मनोनयन गर्ने भएको अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिएका हुन् । उनले भने–“संघको पूर्ण बैठक बुधबार बस्दै छ । हामीले प्रदेशको भलिबल विकासका लागि केही नयाँ योजनाहरु समेत अघि बढाउँदै छौं भने रिक्त कार्यसमिति पदमा दुई जनालाई मनोनयन गर्दैछौं ।”
गण्डकी प्रदेश भलिबल संघबाट दुई जना कार्यसमिति सदस्य रमेश श्रेष्ठ र गंगा केसीले राजिनामा दिए संगै पद रिक्त रहेको थियो । दुवै जनाको राजिनामा गत साउन ११ गते बसेको बाह्रौं पूर्ण बैठकले स्विकृत गरेको थियो ।
यसै गरी गत साउन २७ गते नेपाल भलिबल संघले गण्डकी प्रदेशबाट सल्लाहकारमा मनोनयन गरेको पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मालाई गण्डकी प्रदेश भलिबल संघले बुधबार हुने पूर्ण बैठकमा बधाई सहित सम्मान गर्ने भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
भोली हुने सो बधाई तथा सम्मान कार्यक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालका सम्पूर्ण सदस्यहरुलाई समेत निमन्त्रणा गरिएको अध्यक्ष गुरुङले बताए । “हामीले भलिबल खेलको विकासमा योगदान दिएका दुई जना व्यक्तित्वहरुलाई भलिबल परिवारले बधाई सहित सम्मान गर्दैछौं । यसले भावि दिनमा भलिबल संघलाई एकतावद्ध गर्न र अझै उर्जाशिल रुपमा अघि बढ्न प्रेरणा दिनेछ”-अध्यक्ष गुरुङल भने ।
