
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल टिमले काठमाण्डौमा जारी दोश्रो किङ्स कप पुरुष भलिबल प्रतियोगिता २०८० मा जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।
गण्डकीले नवलपर कावासोतीको जिएम समाज क्लव विरुद्ध ३–२ ले जित दर्ता गरेको हो । प्रतियोगितामा गण्डकीको यो लगातार दोश्रो जित हो । पहिलो खेल आयोजक किङ्स क्लवलाई जितेको गण्डकीले बुधबारको दोश्रो खेलमा भने खराब खेल प्रदर्शनका कारण गण्डकीका लागि जित निकै सकसपूर्ण देखिन्थ्यो ।
पहिलो सेट १७–२५.र दोश्रो सेट २८–२६ ले पछि पर्दै खेलमा लय गुमाएको गण्डकीले तेश्रो सेट २५–१७ ले जित्यो भने चौथो सेट समेत् निकै प्रतिस्पर्धात्मक रुपमा २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसै गरी अन्तिम तथा निर्णायक सेट गण्डकीले १७–१५ ले जित दर्ता गर्दै जारी प्रतियोगितामा दुई खेल जित्दै सेमीफाइनलमो यात्रा तय गरेको छ ।
आजको खेलमा मुख्य स्पाइकर रहेका रवी केसी नचल्दा कमजोर टिम संग कमजोर प्रदर्शन गरेको टिम व्यवस्थापक जिवन भण्डारीले पोखरा स्पोर्टसलाई बताए । “खेल संधै एकैनास हुँदैन । आज सोचे जस्तो खेल भएन । मुख्य स्पाइकर नचल्दा खेलमा केही तनावको स्थिती भयो । तर टिम भावना अनुरुप खेल हुँदा अन्ततः जित हात पारेका छौं ।”–उनले भने ।
रेफ्रिको कमजोर प्रदर्शन
जारी प्रतियोगितामा रेफ्रिहरुको कमजोर प्रदर्शन रहन पुग्यो जिएमसी गण्डकी विचको खेलमा समेत पटक–पटक खेल रोकिन पुग्यो । कुनै समय गण्डकी र जिएमसीका खेलाडीहरुले रेफ्रिको निर्णय विरुद्ध मैदानमा नै विरोध जनाएका थिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।
तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
किङ्स क्लव काठमाण्डौको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता २७ गते सम्म सञ्चालन हुनेछ । गत वर्ष सम्पन्न पहिलो सस्करणमा गण्डकी एपिएफ संग पराजित हुँदै उपविजेता बनेको थियो ।
