यूवा संघ नेपालले राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा स्पोर्टस । यूवा संघ नेपाल खेलकुद विभागले भदौको दोश्रो साता ‘राष्ट्रिय यूवा संघ नेपाल राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना गर्ने भएको छ ।

खेलकुद विभागको सोमबार काठमाण्डौमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । विभागका अध्यक्ष सम्पन्न श्रेष्ठले  बैठक बारे जानकारी दिंदै नेपालको व्याडमिन्टन खेल विकासका लागि प्रतियोगिता आयोजना गर्ने बताए । उनले भने–“हामीले आज एक महत्वपूर्ण निर्णय गरेका छौं । यो प्रतियोगिताले नेपालको व्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादनमा विशेष सहयोग गर्नेछ ।”

भदौको दोश्रो साता काठमाण्डौमा हुने भएको उक्त प्रतियोगिता पुरुष डवल्सतर्फ प्रतिष्पर्धा गराइने छ । २५ देखि ४० वर्ष उमेर समुहमा आयोजना हुने प्रतियोगितामा उपाधि विजेता खेलाडीले नगद १ लाख ५१ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरी उपविजेताले नगद १ लाख १ हजार र तृतिय हुनेले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसै गरी सम्पन्न बैठकले विभागका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय आयोजक समिति गठन गर्नुका साथै विभागको सचिवमा सुवास विष्टलाई मनोनयन गरेको छ । त्यसै गरी बैठकले विभागको सदस्यमा गोकुल गुरुङ, रुपेश श्रेष्ठ, मनिष सेढाई, प्रदिप पाण्डे, विक्रम श्रेष्ठ, अशोक कुमार अर्याल र सागर भट्टलाई मनोनयन गरेको छ । 

बैठकमा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवे र उपाध्यक्ष प्रकाश गौतमको सहभागिता रहेको थियो ।

यूवा संघको खेलकुद विभागले गत महिना मात्रै हाल सम्मकै ठूलो राष्ट्रियस्तरको फुटसल प्रतियोगिता सम्पन्न गरिसकेको छ भने व्याडमिन्टन सहित आगामी दिनमा अन्य राष्ट्रियस्तरका प्रतियोगिताहरुको समेत तयारी सुरु गरेको अध्यक्ष श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close