प्रदेश खेलकुद परिषद गण्डकी द्वारा एसियाड खेलाडीहरुलाई स्वागत

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले सोमबार एक कार्यक्रमका विच १९ औं एसियाली खेलकुदमा सहभागि हुने खेलाडीहरुलाई सामुहिक रुपमा स्वागत गरेको छ ।

परिषदले पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई स्वागत गर्नुका साथै प्रशिक्षणका दौरान भएका समस्याका बारेमा समेत जानकारी लिएको हो । चिनको होङझावमा आगामी सेप्टेम्बर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारीको क्रममा पोखरामा यति बेला महिला ह्याण्डबल, पुरुष रग्बी, आर्चरी र भारोत्तोलनका खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् ।

https://www.facebook.com/PokharaSportsOfficial/videos/826119382214634

पोखरा रंगशालामा आयोजित स्वागत कार्यक्रममा प्रशिक्षणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिंदै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले १९ औं एसियाली खेलकुदमा उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले भनिन–“यहाँहरु नेपाली झण्डा सहित एसियाली खेलको महाकुम्भ जाँदै हुनुहुन्छ । म यहाँहरुलाई गण्डकी प्रदेश सरकारको तर्फबाट शुभकामना दिन चाहन्छु । पक्कै पनि यहाँहरुले आफ्नो प्रदर्शनबाट हामीलाई निराश बनाउनु हुने छैन । यहाँहरु उच्च मनोबलका साथ अघि बढ्न र नयाँ कुराहरु सिकेर आउन समेत आउन म आग्रह गर्छु ।”

खेलाडीहरुलाई कुनै समस्या भए गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालय तत्कालै सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री सिंखडाले खेलकुदको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताइन् ।

सो क्रममा आर्चरीका प्रशिक्षक बसन्त थकाली, ह्याण्डबलकी टिम कप्तान बन्दना राई, टिम प्रशिक्षक विन्दा थापालगायत खेलाडीहरुले स्वास्थ्य सामाग्री, प्रशिक्षणका दौरान आवश्यक खेल सामाग्रीको अभाव लगायतका विषयमा ध्यानकर्षण गराएका थिए । उनीहरुले तत्कालै  फिजियोथेरापिष्ट र खेल सामाग्री उपलव्ध गराउन माग समेत गरे ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव श्रीधर शर्मा, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close