
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघबाट २ जना कार्यसमिति सदस्यहरुले राजिनामा दिएका छन् ।
संघको शुक्रबार सम्पन्न १२ औं बैठकले राजिनामा दिएका २ सदस्यको राजिनामा स्वीकृत गरेको अध्यक्ष नविन कुमार गुरुङले जनाएका हुन् । बैठक बारे जानकारी दिंदै अध्यक्ष गुरुङले ३ पटक सम्म लगातार बैठकमा अनुपस्थित पदाधिकारीहरुलाई ११ औं बैठकले स्पष्टिकरण सोध्ने निर्णय बमोजिम ६ जना लाई स्पष्टिकरण सोधिएको बताउँदै त्यस मध्ये २ जनाले राजिनामा बुझाएको बताए ।
राजिनामा दिनेमा कार्यसमिति सदस्य रमेश कुमार श्रेष्ठ र गंगा केसी हुन् । श्रेष्ठ कास्कीका हुन् भने केसी म्याग्दीका हुन् । अन्यले ४ जनाले भने स्पष्टिकरण दिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसै गरी बैठकले महासचिव तहल सिंह थापा मगरलाई समेत स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । महासचिव थापा ५ पटक सम्म लगातार बैठकमा अनुपस्थित रहेकोले संघका गतिविधि बढाउन समस्या उत्पन्न भएको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
“आजको बैठकमा महासचिव थापा अस्वस्थ भएका कारण अनुपस्थित भएको जानकारी पायौं । तर यसरी बैठकमा महासचिवको अनुपस्थितीले गतिविधि अघि बढाउन समस्या भएको छ” उनले भने–“अव हामी उहाँकै घरमा स्पष्टिकरणको पत्र सहित जाने निर्णय गरेका छौं । उहाँले संघको गतिविधिमा असहयोग गरेको भान हामीलाई परेको छ”, उनले थपे–“अव पद मात्रै ओगटेर बस्ने कार्यसमितिका जो कोहीलाई पनि हामीले स्पाष्टिकरण र कार्वाहीको दायरामा ल्याउँछौं । यदि मैले पनि गलत गर्छु भने मलाई पनि संघमा बस्ने अधिकार छैन ।”
त्यसै गरी बैठकले हालै काठमाण्डौमा सम्पन्न भएको सातौं एनभिए कप भलिबल लिगमा गण्डकी प्रदेशका खेलाडी दिपक ठकुरी मल्ल टिमलाई कुनै जानकारी नै नदिई घर फर्किएको विषयमा समेत स्पाष्टिकरण सोध्ने निर्णय गरेको छ । दिपक बागलुङका खेलाडी हुन् ।
सम्पन्न बैठकमा एनभिए कप भलिबल लिगमा भएको आय–व्यय विवरण समेत प्रस्तुत गरिएको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । उक्त प्रतियोगिताका लागि कुल १० लाख ९७ हजार आम्दानी भएकोमा १२ लाख २४ हजार खर्च भई १ लाख २७ हजार घाटा भएको अध्यक्ष गुरुङले बताए ।
यस्तै बैठकले हालै प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक, रेफ्रि र टेक्निकलहरुलाई सूचिकृत गराउने अभियानका लागि अघि बढाउने निर्णय समेत बैठकले गरेको छ । संघले आगामी दिनमा अझै सक्रियताका साथ भलिबल विकासका गतिविधिलाई अघि बढाउने निर्णय समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
