
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश भित्र हुने कुनै पनि खेल गतिविधि सञ्चालन गर्नुपूर्व अनिवार्य स्विकृती लिनुपर्ने भएको छ ।
परिषदले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई बिहिबार गरेको पत्रचारमा खेल सञ्चालन गर्नुपूर्व आयोजकले अनिवार्य स्विकृती लिनु पर्ने जनाएको हो ।
जिल्लास्थित प्रशासन कार्यालयहरुलाई समेत वोधार्थ समेत दिएको पत्रमा–“प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३७ को (३) बमोजिम निजि क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय, अन्तर्राष्ट्रिय वा प्रदेशस्तरिय प्रतियोगिता आयोजना वा संचालन गर्नु अघि सम्वन्धित खेल संघको सिफारिससहित परिषदको स्विकृती लिनु पर्ने व्यवस्था रहेको हुँदा सोही बमोजिम गर्नु गराउन हुन”– भनिएको छ ।
“जिल्ला भित्र सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुको लागि राखेप/यस परिषद वा जिल्ला खेलकुद विकास समिति संग समन्वय/सहकार्य/जानकारी गरेको हुनुपर्ने र प्रतियोगितामा सहभागि हुने खेल संचालक, रेफ्रि/अम्पाएर समेत यस परिषदमा सुचिकृत/अभिलेखीकरण रहेको हुनुपर्ने छ ।”
परिषदले जिल्ला भित्र रहेका खेल प्रशिक्षण तथा तालिम केन्द्रहरुको समेत अनुमती हुनु पर्ने संगै ति केन्द्रहरुमा कार्यरत प्रशिक्षकहरुको समेत अनिवार्य सूचिकृत हुनुपर्ने पत्रमा उल्लेख छ । त्यस्तै जिल्लास्थित खेल पूर्वाधारहरु (कभर्ड हल/रंगशाला)हरुको सञ्चालन/व्यवस्थापनमा राखेप/यस परिषद/जिल्ला खेलकुद विकास समिति आफै वा ति निकायको लिखित अनुमती/सहमतीमा व्यवस्थापन भएको हुनुपर्ने पत्रमा जनाइएको छ ।
त्यसै गरी जिल्ला खेलकुद संघहरुको अधावधिक, दर्ता र नविकरण सहित साधारण सभा भए नभएको समेत अनुगमन र नियमन गर्न जिल्ला खेलकुदहरुलाई निर्देशन दिइएको छ ।
