
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको टोलीले विभिन्न तिन जिल्लाको अनुगमन गरेको छ । पर्वत, बागलुङ र म्याग्दी गरी तिन जिल्लाको अनुगमन भ्रमण पछि कुरा गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद क्षेत्रलाई मर्यादित संगै विधि सम्मत रुपमा अघि बढाउन परिषदले अभियान थालेको बताएका हुन् ।
ओलम्पियन भगवती संग भेट
यसै विच परिषदका सदस्य सचिव शर्माले जिल्ला भ्रमणमा रहेका बेला ओलम्पियनहरुको घरमा पुगेर भेट्ने आफ्नो अभियान अन्तर्गत बागलुङमा शर्मासहित परिषदको टोलीले ओलम्पियन भगवती केसीको घरमा नै पुगेर भेट गरेको छ । ओलम्पियन संगको भेट पछि कुरा गर्दै सदस्य सचिव शर्माले प्रदेशमा रहेका नौ जना ओलम्यिनहरुको घरमा नै पुगेर आफूले परिवारका सदस्यहरु संग भेट गर्ने उद्धेश्य रहेको बताए । उनले भने–“ओलम्पियनहरु राष्ट्रकै गहना हुन् । उहाँहरुको सम्मानका लागि प्रदेश सरकारले मासिक ५ हजार भत्ता दिने गरी बजेट विनियोजन गरेको छ । हामी उहाँहरु संगको सुख दुख साटसाट गर्न उहाँहरुकै घरमा पुग्ने अभियानमा समेत छौं ।” ओलम्पियन भगवती सुटिङकी खेलाडी हुन् ।
सदस्य सचिव शर्मा सहित परिषदको टोलीमा रहेका कार्यकारी सदस्य तारामायाँ थापा मगर र परिषद सदस्य केशव पाठकसहितको टोलीले पर्वत, बागलुङ र म्याग्दीमा जिल्ला खेलकुद विकास समिति अन्तर्गत रहेका खेल पूर्वाधारहरुको निरिक्षण अवलोकनका साथै जिल्ला खेलकुद विकास समितिका कार्यालयहरुको समेत अनुगमन गरेको थियो ।

पर्वतको सदरमुकाम कुश्मा, बागलुङ र म्याग्दीको बेनीमा आयोजित तिन छुट्टा छुट्टै कार्यक्रममा खेल क्षेत्रमा देखिएका समस्याहरुको समाधान संगै खेल विकासका लागि गति दिन अनुगमन कार्यलाई अघि बढाएको बताए । परिषद मातहत रहेका जिल्ला खेलकुद विकास समितिका कार्यालयहरुमा सेवा प्रवाह, खेलाडीहरुको प्रशिक्षण, आर्थिक र प्रशासनिक सुशासनमा कुनै कसर बाँकी नराख्न जिल्लास्थित समितिका पदाधिकारी र कर्मचारी तथा प्रशिक्षकहरुलाई निर्देशन समेत दिएका छन् ।
पर्वतमा आयोजित एक कार्यक्रममा खेलकुदको विकास अभियानको रुपमा रहेका जिल्ला खेल संघहरुलाई आफ्नो नियमित साधारण सभा र लेखा परिक्षण कार्य गर्न निर्देशन दिंदै सदस्य सचिव शर्माले खेल संघहरु जिम्मेवार भएर अघि बढेमा प्रदेशको खेल विकासले गति लिने बताए । उनले भने–“हामी खेलकुद विकासको डुङ्गाको एउटै सहयात्री हौं । त्यो डुङ्गाको यात्रालाई सहि गन्तव्यमा पु¥याउने जिम्मा हामी सवैको साझा दायित्व हो ।”
त्यसै गरी बागलुङमा आयोजित खेल संघहरुको संगको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव शर्माले खेलकुद विकासको अभियानमा जुट्न आग्रह गरे । प्रदेश सरकारले खेलकुद विकासका लागि चिल्ड्रेन गेम्स, गण्डकी खेलकुद पदक, खेलाडी कल्याणकोष जस्ता कार्यक्रमहरुका लागि बजेटनै विनियोजन गरेर अघि बढेको बताउँदै यि सबै कार्यक्रमहरुलाई सफल बनाउन खेलकर्मीहरुको भूमिका अपरिहार्य रहने कुरामा जोड दिए ।
प्रशिक्षणका नाउँमा रकम असुल्ने जस्ता गलत परम्पराहरु तोड्न परिषद अघि बढेको बताउँदै सदस्य सचिव शर्माले भने–“खेलकुदमा बढ्दै गएका वेथिती रोक्न परिषद अघि बढेको छ । यदि यस्ता गलत कृयाकलाप गरेको थाहा पाए हामी तत्कालै कार्वाही गर्छौं । खेलकुदका नाममा गलत कृयाकलाप गर्ने छुट अब कसैलाई छैन ।”
त्यस्तै म्याग्दीको बेनीमा सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषद सबै संग सहकार्य गर्दै खेलकुद विकासको अभियानमा जुटेको सदस्य सचिब शर्माले बताएका छन् । जिल्ला समन्वय समिति म्याग्दी अध्यक्ष राजकुमार थापा मगर र बेनी नगर पालिकाका प्रमुख सुरत केसी सहितको उपस्थितीमा भएको कार्यक्रममा सदस्य सचिव शर्माले खेल संघहरु जिम्मेवार भएर अघि बढ्न निर्देशन दिए । “जिल्ला खेल संघहरु खेलकुद विकासको पहिलो पाइला हो । यदि संघहरु जिम्मेवार हुन सकेनन् भने खेलको गति पछि पर्छ”उनले भने–“खेल संघहरुमा पारदर्शिता संगै जिल्ला खेलकुद विकास समितिको निर्देशनलाई अक्षरश पालना गर्न म निर्देशन दिन्छु ।”
प्रदेशमा आयोजना हुने खेल गतिविधिहरुको नियमन संगै अन्य कार्यक्रमहरुलाई प्रभावकारी बनाउन प्रशिक्षक, रेफ्रि, जज तथा निर्णायकहरुको सूचिकृत अभियानमा परिषद अघि बढेको बताउँदै सदस्य सचिव शर्माले सूचिकृत नभएका कुनै पनि प्रशिक्षक र रेफ्रिहरुले कुनै पनि खेलमा सहभागिता गर्न नपाउने समेत उल्लेख गरे ।
म्याग्दीमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दी अध्यक्ष राजकुमार थापा मगरले खेलकुद विकासका लागि परिषदले गरेको अभियानमा संधै आफ्नो साथ र सहयोग रहने बताए । त्यस्तै बेनी नगरका प्रमुख सुरत केसीले खेलकुद विकास अभियानमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी, पर्वत जिल्लाका अध्यक्ष हर्कमान गुरुङ, बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

