परिषदले पोखरामा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका आयोजकलाई छलफलमा बोलायो

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका आयोजकहरुलाई भोली (सोमबार) छलफलमा बोलाएको छ ।

पोखरामा आयोजना हुँदै आएका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई अझै व्यवस्थित बनाउने बारे छलफलका लागि बोलाएको जनाएको हो । सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिब श्रीधर शर्माले वर्षेनी पोखरालाई केन्द्रविन्दु बनाएर आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरु संग खेलका उपलव्धि, चुनौती र समस्याका बारेमा छलफल हुने बताए ।

पोखरामा लामो समय देखि हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन, आहा रारा पोखरा गोल्डकप, बगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल, अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ, टाइगर कप भलिबल प्रतियोगिताका आयोजक लगायतका संस्थाका अध्यक्षहरुलाई छलफलमा बोलाइएको बताए ।

“यि प्रतियोगिताहरुले पोखरा र समग्रमा गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट चिनाउन अहम भूमिका खेलेका छन्” सदस्य सचिव शर्माले भने–“वर्षेनी प्रदेश खेलकुद परिषदबाट रकम विनियोजन भइरहेको छ । हामी यि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई व्यवस्थित बनाउने विषयमा अझै गम्भिर भएर अघि बढ्न चाहन्छौं ।”

अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना आफैमा गाह्रो विषय रहेको बताउँदै सदस्य सचिव शर्माले आगामी दिनमा जिल्लाहरुमा आयोजनाहरु सहाशिक खेल गतिविधि र अन्य अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका बारेमा समेत जिल्ला खेलकुदहरुलाई अझै जिम्मेवार बनाएर अघि बढ्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले नै समग्र गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावनाको ढोका समेत उघारेकोले भोली सोमबार हुने छलफलले फलदायी हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close