क्षेत्रिय खेलकुद पोखरा द्वारा एसियाड बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई स्वागत

पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराले १९ औं एसियाली खेलकुदको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहेका विभिन्न ४ खेलका खेलाडीहरुलाई स्वागत गरेको छ ।

क्षेत्रिय खेलकुदले पोखरा रंगशालमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरेको हो । खेलाडीहरुलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडी बिना खेलकुद अपुरो हुने बताउँदै पोखरा गरिएको प्रशिक्षणले एसियाली खेलकुदमा सुखद नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई खेल पोशाक समेत दिएर स्वागत गर्दै राखेप सदस्य गुरुङले उच्च मनोबलका साथ मैदानमा उत्रिन खेलाडीहरुलाई आग्रह गर्दै खेलाडीको जिवनस्तर उकास्न र प्रोत्सहान गर्न उनीहरुलाई सरकारले गम्भिर भएर सोच्नु पर्ने बताए । उनले भने–“हामीले खेलाडीहरुबाट धेरै आशा गरेका छौं । उनीहरुको मनोवल उच्च बनाउन सरकारले केही न केही सोच्नै पर्छ” उनले जोड दिंदै भने–“पदक जित्ने खेलाडीलाई कम्तिमा पनि ५ आनाको घरेडी उपलव्ध गराउनु पर्छ । जसका कारण उनीहरुलाई हौसला मिलोस ।” उनले खेलाडीहरुलाई साप्ताहिकरुपमा विभिन्न ठाउँमा घुम्नका लागि आफूले सहयोग गर्ने घोषणा समेत गरे ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले १९ औं एसियाली खेलकुदमा पोखराको बन्द प्रशिक्षण उपलव्धिमुलक हुनेमा आफू ढुक्क रहेको बताए । पोखरा बसाईका क्रममा कुनै खेलाडीहरुलाई समस्या परेमा त्यसको समाधानका लागि प्रदेश खेलकुद परिषद सहयोग गर्दै अघि बढ्ने घोषणा गर्दै १९ औं एसियाली खेलकुदमा नेपाली खेलाडीहरुले पदक हासिल गर्नेमा समेत आफू विश्वस्त रहेको बताए ।

पश्चिमाञ्चाल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतमा भएको कार्यक्रममा कार्यालय प्रमुख योगीले पोखरा रंगशालामा खेल भईरहँदा सबैको नजर यहि पर्ने हुदाँ खेल प्रशिक्षकहरुलाई समय तालिका अनुसार नै खेल प्रशिक्षण गराउन निर्देशन दिए । कार्यक्रममा क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले समेत आफ्नो भनाई राखेका थिए ।

यहि सेप्टेम्बर २२ देखि अक्टोबर ८ सम्म चिनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको बन्द प्रशिक्षण अन्तर्गत पोखरामा रग्बी, महिला ह्याण्डबल, आर्चरी र भारोत्तोलन गरी ४ खेलका ४६ जना खेलाडीहरु रहेका छन् । यस अघि बक्सिङको टिम केही दिन पोखरामा प्रशिक्षणमा रहेर बैदेशिक प्रशिक्षणको क्रममा भारतको पञ्जाव राज्य प्रस्थान गरिसकेको छ ।

यसै विच पोखरामा सञ्चालन भइरहेको बन्द प्रशिक्षण अनुगमन, निरिक्षण तथा प्रशिक्षण संचालनमा आवश्यक सहयोग गर्न राखेपले ५ सदस्यिय समिति बनाएको छ । समितिमा क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, नायव सुब्बा डम्मबर बहादुर नेपाली (डिबी) र कार्यालय सहायक भोज बहादुर भुजेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close