
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) कास्कीले पोखरामा शनिबार सचेतना मुलक सरसफाई कार्यक्रम आयोजना गरेको छ । नेकोस कास्कीले नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस संगै जननेता मदन कुमार भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापा मगर प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नबराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारीलगायतले नेकोस कास्कीले सचेतना मुलक संगै रचनात्मक कार्यक्रम आयोजना गरेको भन्दै धन्यबाद ब्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दैनेपाल खेलकुद महासंघका केन्द्रिय सचिब बिष्णु पुनले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने–“अहिले राजनिति फोहोरको थुप्रो भएको छ । हामीले सडकको फोहोर त सफाई गछौं तर अव नयाँ पुस्ताले राजनितिको फोहोरको अवशेषहरुलाई सफा गर्नु छ ।” पुष्पलालले सारेको बिरुवालाइ मदन भण्डारीले उचाइमा पुर्याएर जननेता बनेको बताउँदै उनले आज राजनितिमा कमाउ धन्दा मौलाउँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे । साथै नेकोसले २०८० लाइ पुर्ण रुपमा खेल बर्ष मनाउने गरी अघि बढ्ने भएकोले सबैको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।
शिबप्रसाद अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जिल्ला नेकोस कास्कीका सचिब शिवराज सुवेदीले समेत आफ्ना भनाई राखेका थिए ।
सरसफाई कार्यक्रम पृथ्वीचोक बाट सुरु भएर सृजना चोक, जिरो कि.मि हुँदै पोखरा ७, नुवारथोकस्थित पुष्पलाल पार्क पुगेर समापन भएको संस्थाले जनाएको छ ।
