सिंगापुर एमेच्योर ओपनमा सुबाश संयुक्तरुपमा नवौं स्थानमा

पोखरा स्पोर्टस । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सिंगापुर ओपन एमेच्योर च्याम्पियनसिपमा संयुक्तरुपमा नवौं स्थान प्राप्त गरेका छन्।

पार(७३ को अर्किड कन्ट्री क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन २-अन्डर ७१ को कार्ड बनाउँदा समग्रमा ८–अन्डर २ सय ८४ सहित सुबाशले अष्ट्रेलियाका अबेल एडवार्डसँग नवौं स्थान बाँडेका हुन्।

आज सुबाशले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन इभन-पार ३७ मा पुरा गरे । यो क्रममा उनले कुल छ बर्डी प्रहार गरे। तेस्रो, चौथों, सातौं, नवौं, १५औं र १८ औं होलमा एक-एक सट बचाए । सुबाशले छैटौं, आठौं, ११औं र १४औं होलमा एक–एक सट खेर फाले । अर्का नेपाली गल्फर सदभाव आचार्य कट बनाउन असफल भएका थिए ।

प्रतियोगितामा अष्ट्रेलियाका लिंकन मोर्गान १८–अन्डर २ सय ७४ स्कोर सहित उपाधि जित्न सफल रहे । फिलिपिन्सका एड्रिक चान (६७) र कार्ल जानो कर्पस (६९) तथा अष्ट्रेलियाका मार्कस लिम (७०) समग्रमा १७अन्डर २ सय ७५ सहित संयुक्तरुपमा दोस्रो भए।

चार दिने प्रतियोगितामा २२ राष्ट्रका ८६ गल्फरको सहभागिता रहेको थियो। सुबाश र सदभाव सिंगापुरबाट एसियाली खेलकुदको विशेष प्रशिक्षणको लागि भारतको बैंगलोरस्थित तरूण सरदेशाई गल्फ एकेडमी फर्किनेछन्। मुख्य प्रशिक्षक तरुण सरदेसाईको नेतृत्वमा नेपाली राष्ट्रिय पुरुष तथा महिला गल्फ टोली आसन्न एसियाडका लागि तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close