‘बक्सिङमा निरन्तरता होइन अब क्रमभंङ्गता चाहिन्छ’–सदस्य सचिव घिसिङ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा क्रमभंगता आवश्यक रहने कुरामा जोड दिएका छन् ।

नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै सदस्य सचिव घिसिङले बक्सिङको इतिहास दोहोर्‍याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताएका हुन् । “नेपालले एसियनमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो इतिहास बनाएको छ । तर पछिल्लो समय इतिहासले समेत निरन्तरता पाउन सकेन । अब त्यहि इतिहास दोहोर्‍याउनु छ । तर त्यो निरन्तरताले मात्रै पुग्दैन अब क्रमभङ्गता चाहिन्छ ।”

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने बताउँदै सदस्य सचिव घिसिङले तर त्यसका लागि आफूलाई परिणाम भने चाहिने बताए । आगामी पेरिस ओलम्पिकको तयारी सुरु गर्न निर्देशन दिदै उनले भने–“बजेटका लागि तपाईंहरु ढुक्क हुनुस् जति खर्च लागेपनि सरकारले ब्योहर्छ तर रिजल्ट चाहिन्छ ।” आफूले पटक–पटक बक्सिङको सुधारका लागि प्रत्यक्ष रुपमा समय दिएको उल्लेख गर्दै खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि समेत जोड दिंदै आएको बताए ।

बक्सिङ खेलको विकासका लागि एकेडेमी निर्माण गर्न संघलाई सुझाव दिंदैं सदस्य सचिव घिसिङले कार्ययोजना सहित अघि बढ्न उनले आग्रह गरे । उनले हरेक प्रदेश र जिल्लामा एकेडेमीको निर्माणका लागि यथासिघ्र पहल सुरु गर्न उनले बताउँदै राष्ट्रिय खेलकुद परिषदले कुनै पनि खेल संघमा राजनितिक हस्तक्षेप नगरेको बताए ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेलाडी उत्पादनका लागि खेल संघहरुमा स्थायीत्व हुनुपर्ने कुरामा जोड दिए । खेलकुदमा राज्यको लगानी न्यून रहेको बताउँदै नेपाली खेलकुद खेलाडी र उनका परिवारले जोगाएको उल्लेख गरे ।

नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पिताम्बर तिमिल्सिनाले बक्सिङमा विगतको इतिहास फर्काउन निकै चुनौती रहेको बताए । सक्षम नेतृत्वबाटै बक्सिङ खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकोले त्यसतर्फ गम्भिर भएर सोच्न प्रतिनिधीहरुलाई आग्रह गरे ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व बक्सिङ खेलाडी पुष्करराज पन्तले ‘नेपालमा बक्सिङ, हिजो, आज र भोलि’ विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनले ४ प्रदेश, ४० जिल्ला र केन्द्रिय प्रतिनिधि गरी करिव ७० जनाले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close