असक्त खेलाडीहरुको घरमा पुगे सदस्य सचिव शर्मा

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा दुर्घटनाबाट असक्त र घाइते जिवन विताइरहेका  खेलाडीहरुको घरमा पुगेका छन् ।

सदस्य सचिव शर्माले शनिबार नवलपुर मध्यविन्दु नगर पालिकास्थित ओलम्पियन तिलकराम थनेत र पूर्व जुनियर खेलाडी प्रेमलाल महतोको घरमा पुगेका हुन् । सदस्य सचिव शर्माले घरमा नै पुगी उनीहरुको अवस्थामा जानकारी लिनुका साथै उनीहरुलाई परिषदका तर्फबाट आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारे समेत छलफल गरेका थिए ।

सदस्य सचिव शर्माले उनीहरुका दुवै जनाको परिवारको अवस्था दयनिय रहेको जानकारी गराउँदै उनीहरुलाई सहयोगको खाँचो रहेको पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । “मैले ओलम्पियन तिलकराम र प्रेमलालको घरमा नै पुगेर उनीहरुको सबै जानकारी लिएको छु । हामीले दयनिय अवस्थामा रहेका घाइते र असक्त खेलाडीहरुको सवालमा केही न केही सहयोग गर्नु पर्छ”, उनले भने ।

हाल कोरियामा रहेका घाइते ओलम्पियन तिलकराम
हाल कोरियामा रहेका घाइते ओलम्पियन तिलकराम

सदस्य सचिव शर्माले आफ्नो योजना सुनाउँदै एक पटक गण्डकी प्रदेशका सबै ओलम्पियनहरुको घर–घरमा पुग्ने बताए । उनले भने–“हामी एक पटक सबै ओलम्पियन को घरमा पुगेर उहाँहरुको परिवारलाई भेट्ने वातावरण तयार गर्नुछ । उहाँहरुले खेलकुदलाई दिएको योगदानको कदर हामी नेतृत्वमा बस्नेहरुले मात्रै नभई उहाँहरुको योगदानलाई समाजका हरेक वर्गले गर्नुपर्छ ।”

गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न जिल्लामा रहेको पूर्वखेलाडीहरुको सम्मान सहित नयाँ पुस्तालाई खेलप्रति आकर्षणसंगै उनिहरुको सुरक्षित भविश्यको लागि काम गरिरहेको सदस्य सचिव शर्माले बताए । राष्ट्र र प्रदेशका लागि खेलमा सहभागी भएका व्यक्तिहरुको सम्मान भए मात्रै नयाँ पुस्तामा उर्जा प्रवाह हुने भएकाले सबै ओलम्पीयन खेलाडीहरुसंग भेट गर्ने योजनामा परिषद रहेको उनको भनाई थियो ।

नवलपुर मध्यविन्दु नगरपालिका ६ भडराका तिलकराम एथलेटिक्सका खेलाडीहुन । उनले लण्डन समर ओलम्पिक २०१२ संगै १७ औं एसियन गेम्स कोरियामा सहभागि रहेका थिए । कोरियामा कार्यरत रहँदा उनले आफ्नो हात गुमाएका छन् । हाल कोरियामा रहेका तिलराम संग सामाजिक सञ्जालमार्फत कुरा गर्दै उनको त्यहाँको अवस्था बारे समेत सदस्य सचिव शर्माले जानकारी लिएका थिए । 

त्यस्तै अर्का अन्तर विद्यालय राष्ट्रिय खेलाडी प्रेमलालले २०६७ सालमा पोखरामा आयोजना भएको एक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन आउने क्रममा दुर्घटनामा परि दाइने हात गुमाएका हुन् । उनले सदस्य सचिव शर्माको भेटमा खेलमा सहभागी हुन जादा घाईते भएपनि राज्यपक्षबाट कुनै सहयोग प्राप्त नभएको दुखेसो पोखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close