विवादास्पद खेलमा आर्मीद्वारा गण्डकी पराजित

पोखरा स्पोर्टस । सातौ प्रधानमन्त्री कप एन.भि.ए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा सोमबार भएको विवादास्पद खेलमा आर्मीले गण्डकीलाई पराजित गरेको छ ।

आर्मी विरुद्ध जितको लक्ष्यका साथ मैदानमा उत्रिएको गण्डकीलाई ३–० ले पराजित गरेको हो । संघर्षपूर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित टोली गण्डकीलाई २५–१९, २६–२४, ३३–३१ ले पराजित गरेको हो । रेफ्रिको गलत निर्णयका कारण गण्डकीले जितिसकेको तेश्रो सेट अन्तिम समयमा आर्मीलाई सुम्पिन पुग्यो । 

यस जितका साथ आर्मीको ९ अंक भएको छ । यस अघि आर्मीले दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई जितेको थियो ।

अनुशासन भन्दा बाहिर गएको खेल
जारी प्रतियोगितामा आजको खेल अनुशासन विरुद्ध नै हुन पुग्यो । रेफ्रिको निर्णय विरुद्ध आवाज उठाएका दर्शक विरुद्ध आर्मीका खेलाडीहरु सोझै दर्शक दिर्घामा पुगेर हातपात गरेका थिए । जसका कारण २ जना दर्शक घाइते हुन पुगे । स्थितीलाई निणन्त्रणमा लिन आयोजकलाई निकै धौ–धौ भएको थियो । प्रहरी परिचालित भए पछि निकै मुस्किल संग स्थिती साम्य भयो ।

रेफ्रिको विवादास्पद निर्णयका कारण करिव आधा घन्टा अवरुद्ध भएको खेलमा गण्डकी विरुद्ध जित निकाल्न आर्मीलाई निकै संघर्ष गर्नु पर्‍यो । गण्डकीको टोलीले रेफ्रिको निर्णयका विरुद्ध चर्को आवाज उठाएको थियो । सम्पन्न खेलबारे कुरा गर्दै गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष हरि कुमार श्रेष्ठले गण्डकीलाई हराउन चौतर्फी रुपमा दवावको सिर्जना गरिएको बताए । उनले भने–“हामी उपस्थित नभएको अवस्थामा नै टाईसिट ड्र गरियो भने अर्कोतर्फ राता–रात काठमाण्डौ पुग्ने टिमको खेल एका विहानै राखियो,” उनले थपे–“लिगमा खेल्नु त सबै संग पर्नु नै थियो तर सुरुका तिन खेल सबै विभागिय टिम संग खेलाइयो । टिमलाई राम्रो संग सेट हुने मौका नै दिइएन ।”

यता टिपटप हेल्प नेपाल क्लबले दोश्रो जित आत्मसात गरेको छ । आज सम्पन्न खेलमा हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३–० सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१७ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–२१ ले जित्दै थप ३ अंक आफ्नो खातामा लेखाएको हो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । हेल्प नेपालले यस अघि सैलुङ्ग बाघढुङ्गालाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

नेपाल पुलिस क्लबको महिला टोलीले सातौ प्रधानमन्त्री कप एन.भि.ए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा लगातार तीन जित निकालेको छ ।

आज सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो । यस जित संगै पुलिसको ९ अंक भएको छ । यस अघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिग प्रतियोगिताको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–१८, २५–८ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा थप ३ अंक जोडेको छ । एपिएफको लिगमा यो दोश्रो जित हो । यस अघि एपिएफले आर्मीलाई पराजित गरेको थियो । एपिएफको ५ अंक भएको छ । आर्मी संग एपिएफले अंक बाँडेको थियो ।

यस्तै आजै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो । यस संगै डायमन्डको ६ अंक भएको छ । यस अघि डायमन्डले गण्डकीलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अंक तालिकामा डायमन्ड दोश्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close