
पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । स्व.याम (राम) बहादुर थापाको स्मृतिमा उक्त प्रतियोगिता खेलकुद विकास मञ्च पोखराको आयोजनामा हुने भएको हो ।
आगामी शुक्रबार र शनिबार गरी दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिता पोखरा ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा हुनेछ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । पोखरामा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा मार्फत आयोजकले प्रतियोगिताको रनिङ्ग शिल्ड समेत सार्वजानिक गरेको छ ।
वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष विक्रम थापाले बताए । खेलकुद विकास र सामाजिक कार्यमा जोडिएको उक्त संस्था २०७९ सालमा स्थापना भएको जनाउँदै उनले आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने बताए । उनले भने–“हामीले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्छौं सबैको सहयोगको अपेक्षा राख्छौं ।”
यस्तै दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्ररुपमा अघि बढेको खेल संयोजक विकिता तामाङले जानकारी दिइन् । उनले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइन् । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उनले जानकारी दिइन् । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताइन् ।
प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ । प्रतियोगितालाई फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग गरेका छन् ।
पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, ढुंगेखोला टोल विकास समितिका अध्यक्ष विश्वनाथ पौडेल, व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य लिला चपाईँ लगायतको सहभागिता रहेको थियो ।
