
पोखरा स्पोर्टस । केही वर्ष यता पोखरामा मौलाउँदै आएको इन्डो नेपाल फ्रेन्डसिप प्रतियोगिताहरु पोखरा रंगशाला भित्र सञ्चालन हुने नदिने प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
पोखरामा शुक्रबार पोखरा रंगशालामा यस्तै प्रतियोगिता सञ्चालन भइरहँदा उनले स्विकृतीको रुपमा सञ्चालन भएको प्रतियोगिता रोक्ने बताएका हुन् । उनले भने–“ प्रतियोगिता सञ्चालन पूर्व राखेप व प्रदेश खेलकुद परिषदको सहमति नलिनु कानुन सम्मत छैन । कानुन विपरित वा अनुमती नलिई खेलाइने खेलहरु रोकिने छ । आजको प्रतियोगिता मैले रोकिन तर भारत र नेपालको नाममा खेलकुद भित्र मौलाएको ठगि धन्दालाई टुलु-टुलु हेरेर परिषद बस्दैन ।”
राखेप वा प्रदेश खेलकुद परिषदको सहमति नलिनु कानुन सम्मत नभएको बताउँदै यस्ता प्रतियोगिता सञ्चालन गर्नु वा कानुन विपरित वा अनुमती सहमति नलिई खेलाइने खेलहरु रोकिने बताउँदै सदस्य सचिव शर्माले भने–“यो कानुनको उल्लघनको परकाष्ठा हो । कानुन विपरित हुने प्रतियोगिताहरु रोकिने छन् ।” उनले चेतावनी दिंदै भने–“तर राखेप र प्रदेश खेलकुद संग अनुमती लिएमा यस्ता प्रतियोगितालाई अझै व्यवस्थित बनाइने छ । जानकारी हुँदा हुँदै अव पनि यस्ता प्रतियोगिताहरु अव पनि गर्न कोसिस गरिएकमा सरकारी निकायको समन्वय र सहयोगमा यस्ता खेल रोकिने छन् । संलग्न दोषि र पदाधिकारीहरुलाई प्रचलित कनुन वमोजिम गरिने छ ।”
कुनै पनि प्रतियोगिताहरु आयोजना हुन पूर्व परिषद वा मातहातका जिल्ला खेलकुद विकास समितिका कार्यालयहरुमा जानकारी दिइनु पर्ने र पूर्व स्विकृती लिनुपर्ने कानुनी प्रावधान हुँदा हुँदै मित्रराष्ट्र भारतबाट अनेक शिर्षकमा मैत्रीपूर्ण प्रतियोगिताहरु सञ्चालन हुनु ठगिको परकाष्ठा भएको सदस्य सचिव शर्माले बताए । प्रतियोगिता भन्दा पनि नाटक मञ्चन हुने जस्तो गरी प्रतियोगिता सञ्चालन गर्ने र भारतबाटै सहभागि हुने टिमले ल्याएका ट्रफी, कप र प्रमाणपत्र वितरण गर्नु लज्जाजनक रहेको उनले स्पष्ट पारे ।
पोखरा रंगशाला वा सरकारले चर्चिएका कुनै पनि रंगशाला वा खेल स्थलहरुमा खेलकुदका नाममा हुने यस्ता गलत हर्कत र प्रतियोगिताहरु सञ्चालन हुन नदिने बताउँदै आयोजना भएमा प्रशासन द्वारा कार्वाही गरिने चेतावनी समेत उनले दिए ।
पोखरा र काठमाण्डौमा बिना स्विकृती यस्ता प्रतियोगिताहरु सञ्चालन हुने गरेका छन् । भारतिय र नेपालीहरु मिलेर केहीले मनग्ये कमाउने दाउमा खेलाडीका अभिभावकहरुलाई समेत मुर्ख बनाउने हर्कत गरिरहे पनि यस् प्रति भने कुनै निकायको ध्यान पुग्न सकेको थिएन ।
पोखरा रंगशालामा हुने यस प्रकार प्रतियोगिताहरुमा स्वयं क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद तथा अन्य खेलकुद संघहरुले समेत विगतमा आँखा चिम्लिंदै आएका थिए ।
इन्डो नेपाल फ्रेन्डसिप अन्तर्राष्ट्रिय प्रतियोगिता भन्दै भारतिय र नेपाली विचौलियाहरुले खेलाडी र अभिभावकहरुलाई करिव ५–७ वर्ष देखि निरन्तर ठगी गर्दै आएका थिए । धेरै भारतिय खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने नाउँमा नेपालमा आएर ठगिएको महशुस गरे पनि उनीहरुको सुन्ने कोही थिएन ।


