
पोखरा स्पोर्टस । नेपाल हाप्किडो संघले राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद कार्यक्रम अन्तर्गत महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम कार्यक्रम अघि सार्ने भएको छ ।
उक्त कार्यक्रम यहि बुधबार काठमाण्डौमा हुने भएको हो । सबै कार्यक्रमहरु विद्यार्थी लक्षित गर्दै सहभागिताका लागि आहवान गरिएको छ । संघले कार्यक्रमको संयोजकको जिम्मेवारी समेत महिलालाई नै दिएको छ । विजयाकुमारी वाइबाले कार्यक्रम संयोजन गर्ने भएकी छिन् ।
राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको तालिमका सहभागीहरुलाई महिला क्षमता अभिबृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशलको प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक वाईवाले जानकारी दिएकी छन् ।
तालिममा हाप्किडोका अनुभवी महिला अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुलाई आत्म रक्षा सम्बन्धि कौशल सिकाउने तय भएको उनले बताइन् । राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागीता अभिबृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएको उनले बताइन् ।
मार्शल आर्ट्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशल सँग सम्बन्धित खेल विद्या समेत हो । यसका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् । तुलनात्मक रुपमा नेपालमा नयाँ खेल भए पनि नेपालमा हाप्किडो खेलले देशैभर सञ्जाल समेत बनाएको छ ।
देशभित्र स्थापनाको एक दशक पनि नपुग्दै ५० हजारको हाराहारीमा देशको युवाहरुलाई यस खेलमा सक्रिय बनाउन सफल भएको हाप्किडोको ६० जिल्लाहरुमा विधिवत रुपमा जिल्ला संघहरु स्थापना भइसकेको छ । प्रायः जिल्ला र देशैभरका धेरै विद्यालयहरुमा यस खेलको नियमित प्रशिक्षण हुँदै आइरहेको छ ।
फायल तस्विर
