राष्ट्रिय च्याम्पियन प्रिन्सलाइ पराजित गर्दै प्रफुलले जिते उपाधी

पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकल तर्फ उपाधी उचालेका छन् ।

निकैनै संघर्षपूर्ण खेलमा बिश्व जुनियर नम्बर १ रहिसकेका दाहाललाइ महर्जनले २१–१९, २१–२३, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो जित हो । उनी हालै मात्र जापान बसेर फर्केका थिए । प्रधानमन्त्री कपको पहिलो बिजेता दिपेश धामी रहेका थिए । धामीले फाईनलमा प्रिन्सलाई पराजित गर्दै उपाधी उचालेका थिए । यस्तै दोश्रो संस्करणमा प्रिन्सले उपाधी जितेका थिए । तेश्रो स्थानमा एपिएफका देवराज राना र आर्मीका रुकेश महर्जन रहे ।

महिला एकलतर्फ भने चिर प्रतिद्वन्दी सेनाकी अनुमाया राईलाई पराजित गर्दै सेनाकी रसिला महर्जनले जित हात पारिन् । महर्जनले २१–१८, २१–१६ ले जित निकाल्दै उपाधी रक्षा गरेकी थिईन् । कस्तुरी कलेजकी सिमा राजबंशी र सेनाकी अमिता गिरी तेश्रो भए ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बामती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको ब्यवस्थापनमा भएको प्रतियोगितिाको यु ११ ब्वाईज तर्फ सूर्य दर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारुले एम.बि.बि.एफ.का आर्नभ श्रेष्ठलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै उपाधी उचाले । आर्मीका दीप थिङ्ग र आइ.बि.एस.सी.का प्रिन्स थापा मगरले तेश्रो स्थानमा चित्त बुझाए ।

यु १३ तर्फ ब्वाइजमा आर्मीका सुदेश राजकोटीले आर्मीकै रिनज मगरलाई २२–२०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी उचाले । एपिएफका आयुष सिम्खडा र काठमाण्डौका सुहम कार्की संयुक्त तेश्रो भए । गर्ल्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्कीले एम.बि.बि.एफ.की निभा राईलाई पराजित गर्दै उपाधी जितिन् । कार्कीले २१–१६, २१–१९ को जित हात पारेकी हुन् । बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र ललितपुरकी टिशा रानी शाक्य तेश्रो भए ।

ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा भएको प्रतियोगिताको यु १५ ब्वाईज तर्फ आर्मीका सुविन श्रेष्ठले उपाधी उचाले । श्रेष्ठले एपिएफका शिषिर रानालाई २१–१६, २६–२४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आर्मीका रिजन मगर र सौर्य महर्जन तेश्रो भए । गल्र्स तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई १९–२१, २२–२०, २१–१७ ले पराजित गर्दै उपाधी उचालिन् । एम.बि.बि.एफ.की निभा राई र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री संयुक्त तेश्रो भए ।

भेट्रान्स ४५ बर्ष माथिको खेलमा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङ्गको जोडी बिजयी भए । शम्भु र राजेशको जोडीले पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीलाई २२–२०, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । स्पोर्टस् हबका सन बहादुर साँवा र लाक्पा शेर्पाको जोडी तथा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राज कुमार पोखरेलको जोडी संयुक्त तेश्रो भए ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको थियो । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गरे । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु–११, १३ र १५ का शिर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे । यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठ, लगातयले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close