
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा रग्बी खेलको विकास एवं प्रवर्द्धन गर्न पहिलो पटक रग्बी सेभेन्स प्रतियोगिता सम्पन्न गरिएको छ ।



प्रदेश खेलकुद परिषदको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरु सम्मिलित ४ टिमले सहभागिता जनाएका थिए । २ महिला र २ पुरुष गरी कूल ४ टिम सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले प्रदेशमा रग्बी खेलको विकास एवं प्रवर्द्धनमा भूमिका खेल्ने बताइन् ।
परिषदले सुरु गरेको यो अभियानको प्रशंसा गर्दै खेलकुदको विकास र खेलाडीहरुको हितका लागि मन्त्रालय संधै अभिभावकत्व लिन पछि पर्ने मन्त्री सिंखडाले बताइन् ।
प्रतियोगितामा विजेता महिला तथा पुरुष टिमलाई जनही नगद १०–१० हजार र उपविजेता टिमलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य एवं खेलपत्रकार केशव पाठक, नेपाल रग्वी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, महाप्रवन्धक विजय खड्का, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ, महिला विभाग प्रमुख एलिशा थापालगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रिय वरिष्ठ उपाध्यक्ष गिरीले प्रतियोगिताले गण्डकी प्रदेशमा रग्बी खेलको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आइतबारबाट नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण पोखरामा सुरु हुने बताए । संघले गण्डकी प्रदेश केन्द्रित कार्यक्रम अघि सारेको जनाउँदै विद्यलायहरुमा समेत रग्बीको प्रशिक्षणको सुरुवात गर्ने तथा पोखरा पर्यटकिए शहर भएका कारण रग्बी फेष्टिभलको समेत आयोजना गरिने उनले बताए ।
