
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुदका कर्मचारीहरु संग छलफल गरेको छ ।
परिषदको सचिवालयमा शुक्रबार भएको उक्त छलफलमा आगामी दिनमा जिल्लाहरुमा खेलकुदको गति तिव्र बनाउने संगै कर्मचारीहरुको व्यवस्थापनमा विषयमा छलफल केन्द्रित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् ।
यहि असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यरत कर्मचारीहरु परिषद समायोजन भए संगै परिषदले आगामी दिनका योजना अघि सार्न पहिलो पटक उक्त छलफल गरिएको सदस्य सचिव शर्माले जनाए । साथै जिल्लामा आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्ने तथा राखेपबाट समायोजन भएर आएका प्रशिक्षक र कर्मचारीहरुलाई परिषदले आफ्नो मातहतमा राखेर काम काज लाई अझै चुस्त बनाउने विषयमा छलफल केन्द्रित गरिएको उनको भनाई थियो ।
खेलकुद अब संघियताको मर्म अनुसार अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै कर्मचारीहरुको व्यवस्थापनले जिल्लाहरुमा खेलकुदका कार्यक्रम अघि बढाउन समेत धेरै सहजता हुने उनले उल्लेख गरे । उनले भने–“हामी प्रदेशको खेलकुद गतिलाई अझै तिव्र बनाउन चाहेका छौं,” सदस्य सचिव शर्माले भने–“कर्मचारीहरु परिषद मातहात आएका छन् अब योजनावद्ध रुपमा हामी अघि बढ्छौं ।”
संघियताको मर्म अनुसार नै अब प्रदेशमा रहेका सबै खेलकुद पूर्वाद्धारहरु समेत परिषद अन्तर्गत आउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै उनले कर्मचारीहरुलाई सोही अनुरुपा आफ्नो कार्यलाई समेत अघि बढाउन निर्देशन गरिएको बताए ।
गण्डकी प्रदेशका ११ वट जिल्ला मध्ये हाल १० जिल्लाका २० जना कर्मचारीहरु राखेपबाट समायोजन भएका छन् । तर लमजुङ भने विगत २ वर्ष देखि कर्मचारी बिहिन अवस्थामा छ ।
बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
