प्रदेशस्तरिय महिला भलिबल पोखरामा सुरु, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्छौं–मुख्यमन्त्री पाण्डे

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने प्रतिवद्धतालाई प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनः दोर्‍हाएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बिहिबारबाट पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरिय महिला भलिबल प्रतियोगितालाई उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरालाई पुनः दोर्‍हाएका हुन् ।

आगामी वर्षको कार्यक्रममा विभिन्न नयाँ कार्यक्रमहरु सहित खेलकुद विकासका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले भने–“हामी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि प्रतिवद्ध छौं । तर उचित जग्गा प्राप्त हुन सकेको छैन । यद्यपी हामी अझै जग्गाको खोजीमा छौं । जग्गा उपलव्ध हुना साथ निर्माण प्रक्रिया अघि बढ्ने छ ।”

प्रदेश खेलकुद परिषदका संरक्षक समेत रहेका मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि केही रकम बिनियोजन गरेको बताउँदै सानो उमेरबाटै खेलाडी उत्पादन गर्न बालबालिका खेलकुद कार्यक्रमलाई समेत अभियानको रुपमा अघि बढाउने बताए । उनले जिल्ला जिल्ला बाटै खेलाडी उत्पादनका लागि समेत प्रदेश सरकारले कार्यक्रम अघि सारेको उल्लेख गर्दै सोही अनुसार बजेट बिनियोजन गरिएको बताए ।

खेलकुदका माध्यमबाट यूवा वर्गलाई उत्साहित गराउन खेलाडीहरुलाई प्रोत्सहान गर्न सम्मान कार्यक्रमलगायत गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता दिने कार्यक्रमहरु समेत वर्तमान सरकारले ल्याएको बताउँदै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रलाई पर्यटन संग जोड्न सहासिक खेलकुदका गतिविधिहरुलाई समेत प्रदेश सरकारले अघि बढाएकोे बताए ।

सो अवसरमा बोल्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै खेलाडीहरुको हितका लागि सरकारले अभिभावकत्व लिने बताइन् । उनले विभिन्न खेलका महिला खेलाडीहरु उत्पादन तथा उनीहरुलाई प्रोत्सहान गर्न मन्त्रालय अझै जिम्मेवार भएर अघि बढ्ने बताइन् । उनले खेलकुद मनोरञ्जनका लागि मात्रै नभई समृद्धिका लागि समेत बताउँदै खेलले नै मानिसको जिवनमा अनुशासन कायम गर्न समेत उत्तिकै भूमिका खेल्ने बताइन् ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले समेत आफ्ना भनाई राख्दै खेलकुदको विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष भन्दा आगामी वर्षका लागि बजेट बढाएको बताउँदै आगामी वर्ष प्रदेशको खेल गतिविधि अझै तिव्ररुपमा अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले चालु आर्थिक वर्षमा परिषदले विभिन्न जिल्लाहरुमा वार्षिक कार्यक्रम अनुसार प्रतियोगिताहरु सञ्चालन गरिसकेको बताउँदै आगामी वर्षमा समेत ति प्रतियोगिताहरुलाई निरन्तरता दिने उल्लेख गरे । उनले १० औं राष्ट्रिय खेलकुद तयारीका लागि समेत यस प्रकारका प्रतियोगिताहरुले खेलाडीहरुको पहिचान तथा खोजी संगै खेलकुदको प्रवर्द्धनका लागि सहज हुने औंल्याए ।

प्रतियोगिताको पहिलो दिन ७ खेलहरु सम्पन्न भएका छन् । आज भएको उद्घाटन खेलमा गोर्खाले तनहुँलाई २५–१९, २५–२१ को सोझो सेटमा पराजित गरेको छ । तर एक अर्को खेलमा नवलपुरलाई २–१ को सेटमा पराजित गरेको भलिबल रेफ्रि टुक बहादुर गुरुङले जानकारी दिए । नवलपुर गोर्खा विरुद्धको खेल ९–२५, २५–२२ र २५–१६ ले हार ब्यहोरेको छ ।

बिहिबार नै भएका अन्य खेलमा कास्की म्याग्दी संग २५–०६, २५–१० ले पराजित हुँदा कास्कीले लमजुङ विरुद्धको खेल भने २५–१९, २५–१७ ले जितेको छ । त्यस्तै स्याङजाले मुस्ताङलाई २५–४ र २५–१४ ले पराजित गर्दा पर्वतले बागलुङलाई २५–२०, २५–१५ को सोझो सेटमा पराजित गर्न सफल भएको छ । यसैगरी मनाङ र मुस्ताङ विच भएको खेलमा मनाङले २६–२४ र २५–२० ले हराएको छ । मुस्ताङ पहिलो चरणका दुवै खेलमा पराजित हुँदै खेलबाट बाहिरिएको छ । 

गण्डकी प्रदेशस्तरिय महिला भलिबल पहिलो पटक पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सुरु भएको हो । प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ । प्रतियोगिता यहि असार १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close