गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तयि मुवाँथाई प्रतियोगिता–२०८० मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा छुट्टा–छुट्टै प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा ७० केजी भन्दा माथीको प्रतिस्पर्धामा पुरुषतर्फ सागर नेपाली बिजयी भए । उनले सुदर्शन गुरुङलाई पराजित गरे । त्यस्तै ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गर्दा ५९ केजी तौलमा तेन्जी रब्सनले डेनियल गुरुङलाई पराजित गरे । त्यस्तै पुरुष ५४ केजी तौलमा दिपेश गुरुङले अनिश मगरलाई पराजित गरे भने महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुले जनही रु नगद १० हजार र उपविजेता खेलाडीहरुले जनही नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपती, संघका केन्द्रिय उपाध्यक्ष दिपक बहादुर गोदार, सिनियर मुवाँथाई खेलाडी सुवास खड्का लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा मुवाँथाई सिनियर रेफ्री भुपेश शाक्यले जुरीको भूमिका निर्वाह गरेका थिए भने मुख्य रेफ्रिमा सञ्जय राई रहेका थिए । त्यस्तै अन्य रेफ्रिहरुमा सरोज पौडेल, दिल तामाङ, सतिश लिम्वु, जिवन गुरुङ, उत्तम गुरुङ र विकास गुरुङ रहेका थिए ।

यस अघि मुवाँथाई खेलको रेफ्रिहरुलाई दुई दिने प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा २० जना भन्दा बढिले सहभागिता जनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close